काठमाडौं– लेवनानको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना लेवनान समकक्षी याकुव रियाद सर्राफसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र लेवनानबीच रहदैं आएको पुरानो सम्वन्ध र लेवनानको शान्ति प्रक्रियामामा नेपाली सेनाले पुर्याएको योगदानलगायत आपसी हितका विषयमा छलफल भएको थियो ।
छलफलको क्रममा लेवनानका रक्षामन्त्री सर्राफले सन् १९५८ देखि यहाँको शान्ति सुरक्षामा योगदान दिदैं आएका नेपाली सेनाको प्रशंसा गर्दै शान्ति वहालीको क्रममा विरगति प्राप्त सेना जवान तथा अधिकृतका परिवारलाई लेवनानी नागरिक सरह सम्मान दिने वताए । नागरिक सरहको सेवा सुविधासहितको सम्मानका लागि लेवनानी सरकारले प्रक्रिया अगाडि बढाईसकेको जानकारी मन्त्री सर्राफले उपप्रधानमन्त्री पोखरेललाई दिए । ६२ वर्षको अन्तरालमा २९ जना नेपाली सेनाले हालसम्म लेवनान शान्तिका क्रममा विरगती प्राप्त गरिसकेका छन् ।
लेवनान शान्तिका लागि हालसम्म ५ हजार बढी नेपाली सेनाले विभिन्न स्थानमा पुगेर जनतासँग भिज्दै गरेको काम कुनै असली राजदूतको भन्दा कम नभएको मन्त्री सर्राफको भनाई थियो । ‘लेवनानमा शान्ति बहालीका लागि अन्य मुलुकका सेनाले काम गरेपनि नेपाली सेनाप्रति लेवनानीहरुको छुट्टै सम्मान रहेको महसुस हामीले गरेका छौं । यसबाट दुई पक्षीय जनस्तरको सम्वन्ध विस्तारमा ठूलो भूमिका निर्वाह भएको छ,’–मन्त्री सर्राफले भने ।
भेटका क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले लेवनानको शान्तिका लागि नेपाल सद्धैव तत्पर रहेको बताए । आफ्नो तवरबाट सदैव सहयोग रहिरहने विश्वास दिलाउँदैं उनले शान्त, सम्वद्ध र स्थिर लेवनानको पक्षमा लामो समयदेखि नेपालले आफ्नो धारणा राख्दै आएको र त्यसमै अडिग रहेको बताएका थिए।
उपप्रधानमन्त्री पोखरेलले लामो अस्थिरतापछि शान्त उन्मुख रहेको लेवनानको शान्तिको कामना गर्दै निर्वाचनबाट नै शान्ति र राजनीतिक स्थायित्व रहने बताउदैं भने ‘यो नेपालको अनुभव हो, नेपाल पनि १२ वर्षसम्म द्धन्द्धको अवस्थामा थियो, अहिले शान्तिको दिशामा छ ।’
लेवनानका रक्षामन्त्री सर्राफलाई नेपाल भ्रमणका निम्तो दिदैं उपप्रधानमन्त्री पोखरेलले लेवनानी आर्म फोर्सका अधिकारीहरुलाई नेपालमा कमाण्ड तालिम, प्यारा वेसिक तालिमलगायतका नेपाली सेनाले उपलब्ध गराउने विशिष्ट सैनिक तालिममा सरिक गराउन प्रस्ताव गरेका थिए।
नेपालले लेवनानमा दुई पक्षीय कुटनीतिक सम्वन्ध स्थापना हुनुअघि देखि नै सेनाका टोली शान्ति स्थापनाका लागि खटिएका थिए । नेपाल र लेवनानबीच सन् १९६३ मा कुटनीतिक सम्वन्ध विस्तार भएको थियो । जवकि कुटनीतिक सम्वन्ध विस्तार हुनुभन्दा ५ वर्ष अघि देखि नै नेपाली सेना शान्ति स्थापनार्थ त्यहाँ कार्यरत थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४