जनकपुरधाम– नापी कार्यालय धनुषामा कार्यरत एक कर्मचारी घुससहित पक्राउ परेका छन् । नापी कार्यालय धनुषामा जंजिरदार पदमाकार्यरत जय गोविन्द यादव १५ हजार घुससहित पक्राउ परेका हुन् ।
यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको हो । आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको कार्यालयले जनाएको छ ।
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेसवाका एक सेवाग्राहीसँग गाउँ ब्लकको जग्गा नापी हुँदा सच्याउन जंजिदार यादवले १५ हजार घुस मागेका थिए ।
कित्ताकाट ट्रेस नक्सा तयार पार्ने प्रयोजनका लागि घुस मागेको विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको आयोगको बर्दिवास कार्यालय प्रमुख पुरुषोत्तम ढकालले बताए। घुससहित पक्राउ परेका यादव उपर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४