काठमाडौं- प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलनको आयोजनाबाट नेपालको क्षमता देखिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बिमस्टेक सम्मेलनबारे जानकारी दिँदै ओलीले छोटो समयमा सम्मेलन आयोजना गरेर नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ आफ्नो क्षमता प्रदर्शन गरेको दाबी गरे । ‘अहिले सम्मेलन नगरेको भए सवा वर्षसम्म आयोजना हुन सक्ने थिएन,’ ओलीले भने, ‘भारत, बंगालदेश र भुटानमा हुन लागेका निर्वाचनका कारण सम्मेलन पर सार्नुपर्ने अवस्था थियो ।’
सार्क शिखर सम्मेलन आयोजना हुन नसकिरहेको सन्दर्भमा बिमस्टेक सम्मेलन गर्न नसक्दा क्षेत्रीय हित प्रबद्र्धनमा बाधा आउने सम्भावना रहेको प्रधानमन्त्रीले औंल्याए ।
नेपालको बहुपक्षीय कूटनीतिलाई थप सबल बनाउन सम्मेलनले योगदान दिएको ओलीको भनाइ थियो । र, कुशल कूटनीतिक क्षमता देखाउन सफलता मिलेको उनले बताए । विद्युत् व्यापार गर्न अन्तर्राष्ट्रिय ग्रिड कनेक्टिभिटी निर्माण गर्ने सम्झौता बिमस्टेक सम्मेलनको मुख्य उपलब्धि रहेको औंल्याए ।
सम्मेलनका क्रममा सदस्य मुलुकका सरकार/राष्ट्र प्रमुखहरूसँग अलग–अलग भेटवार्ता र छलफल भएको जानकारी दिए । बिमस्टेकको बडापत्र निर्माणका लागि प्रारम्भीक कामको जिम्मेवारी दिइएको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४