विराटनगर- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले नजरबन्दमा राखेर गलत गरेको बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा नजरबन्दमा राखेर सरकारले जबराको मानव अधिकार हनन गरेको उनले बताएका हुन्।
‘महाभियोग लगाउने सांसदहरूको पदावधि सकिएपछि महाभियोग स्वत: निस्क्रिय भएको छ,’ उनले भने, ‘सदनमा ल्याएको विधेयक सांसदको पदावधि समाप्त भएपछि निष्क्रिय भएजस्तै महाअभियोग पनि निष्क्रिय भएको हो।’
सञ्चारकर्मीसँगको कुराकानीमा कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान खारेज गर्ने प्रयास गरेको आरोप लगाएका छन्। उनले राष्ट्रपतिले गल्ती गरिरहेका बेला सरकार तथा दलहरूले महागल्ती गर्न नहुने बताए।