शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • शेखर समूहको खबरदारी सभा : समानुपातिक बन्द सूची सच्याउन माग, प्रत्यक्षतर्फ ४० प्रतिशत भाग

शेखर समूहको खबरदारी सभा : समानुपातिक बन्द सूची सच्याउन माग, प्रत्यक्षतर्फ ४० प्रतिशत भाग

शेखर समूहका नेताहरुले संस्थापनले समानुपातिक उम्मेदवार चयन गर्दा बदमासी गरेकाले बन्सूची सच्याउनुपर्ने माग अगाडि सारेका हुन्।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहले निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याउन संस्थापन पार्टी सभापति शेरबहादुरसँग माग गरेको छ। शनिबार काठमाडौंमा गरिएको खबरदारी सभामा शेखर समूहका नेताहरुले संस्थापनले समानुपातिक उम्मेदवार चयन गर्दा बदमासी गरेकाले बन्सूची सच्याउनुपर्ने माग अगाडि सारेका हुन्।

National life insurance

कार्यक्रममा नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न अप्ठेरो पर्नेतर्फ संस्थापन पक्षलाई सचेत गराए। उनले भने, ‘समानुपातिकमा देखाउन मिल्ने मान्छे राख्नुस्। अहिले प्रदेश १ मा राखिएका मान्छे हामी चिन्दैनौं। यस्तो नाम राख्न कसले दियो अधिकार?’

पार्टीमा न्यायोचित टिकट वितरण नभए ४० प्रतिशत भाग हातहाती चाहिने घिमिरेले बताए। ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो। हामी तपाईंकै बाटोमा छौं। कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ। ४० प्रतिशतभन्दा १ प्रतिशत पनि हामीलाई मञ्जुर छैन। अब टुलुटुलु हेरिबस्दैनौं,’ उनले चेतावनी दिए।

सत्तारुढ गठबन्धनको बैठकमा भागबन्डाको हिसाब मिलाएर मात्र कांग्रेसले चुनाव जित्न नसक्ने उनको दाबी छ। घिमिरले पार्टी संस्थापनले पेलिरहेकाले त्यसको प्रतिवाद गर्न पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन सल्लाह दिए।

नुवाकोटका पूर्वसभापति जगदीश्वर नगरसिंह केसीले निर्वाचन आयोगले १६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन समय दिएकाले त्यतिबेलासम्म नसच्याए प्रतिवादमा उत्रिइने बताए। उनले भने, ‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ। १६ असोजसम्म नसच्याए प्रतिवादमा उत्रन्छौं।  समानुपातिक सूची १६ असोजसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार हुनूस्।’

worldlink

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापति देउवाले पार्टीभन्दा गठबन्धनमा बढी ध्यान दिएकामा आपत्ति जनाए। ‘बिहानदेखि बेलुकासम्म कांग्रेसका लागि बालुवाटारमा बैठक हुँदैन। भ्रातृ संस्था लथालिंग पारेर कांग्रेस चुनावमा जान किन खोजिरहेको छ? भ्रातृ संस्थालाई पूर्णता दिने पार्टीको निर्णय संस्थापनले कार्यान्वयन गरेन’, उनले भने।

उम्मेदवार छनोटमा आफ्नो पक्षलाई ४० प्रतिशत दिनैपर्ने उनले बताए। देउवाले विगतमा भागशान्ति गरी ४० प्रतिशत खोजेको उनले उदाहरण पेस गरे।

तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको सुनाए। ‘समानुपातिक नाममा एकलौटी गरिएको छ। केन्द्रीय सदस्यमा देउवाको बहुमत छ। केन्द्रीय सदस्यमा बहुमत पुगेर मात्र चुनावमा बहुमत आउँछ? मत दिने जनताले होला’, उनले भने।

पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले कांग्रेस विचारको हो कि ब्रिफकेसको भनी प्रश्न गरे। ‘कांग्रेसमा विचार मरेको छ। जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ। बहुमतको नाममा विभेद गर्न पाइँदैन’ उनले भने।

डोटीका नेता भरत खड्काले उम्मेदवार छनोट न्यायसंगत नभए आफ्नो समूहले देशभर उम्मेदवारी दिने आँट गर्नुपर्ने बताए। ‘प्रचण्ड र माधव नेपालले बाँड्ने टिकट हामीलाई स्वीकार्य छैन। तालमेल गर्नै हुँदैन। आफ्नो असहमति राख्न पार्टीमा पाइन्छ,’ उनले भने।

निवर्तमान सांसद तेजुलाल चौधरीले कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गरिए मधेसमा पार्टी सकिने दाबी गरे। उनले भने, ‘मधेसको ३२ सिटमा कांग्रेसले २० सिट लिनैपर्छ। छाड्दै जाने हो भने कांग्रेस मधेसमा सकिन्छ।’

प्रकाशित: Sep 24, 2022| 04:27. 58 शनिबार, असोज ८, २०७९