शुक्रबार, जेठ १, २०८३

निर्माणको अन्तिम चरणमा घारखोला जलविद्युत्

विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ।

National life

कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए। 'बाँध र डिसेन्टर (पानी थिग्राउने पोखरी)मा पानी हालेर परीक्षण सुरु गरिएको छ', उनले भने, 'सुरुङ, विद्युत् गृह, प्रसारण लाइन र सवस्टेशनमा बाँकी संरचना निर्माणलाई तीव्रता दिनाका साथै बनिसकेका संरचनाको परीक्षणलाई सँगसँगै अघि बढाइएको छ।' 

आगामी मङ्सिर महिनादेखि परीक्षण उत्पादन सुरु गर्ने तयारी र लक्ष्यका साथ सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर जोसेप बज्राचार्यले बताए।

'हालसम्म समग्रमा ९२ प्रतिशत भौतिक प्रगति भएको छ', उनले भने, '२०७८ असोज १३ गते जोडिएको तीन हजार पाँच मिटर लामो सुरुङमा प्लास्टरको काम भइरहेको छ।' असोजदेखि सुरुङमा परीक्षण गर्ने तयारी छ। अन्नपूर्ण गाउँपालिका-५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ। बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा परीक्षणका लागि पानी हालिएको छ। डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ। 

अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान गरिएको छ। आउटलेटदेखि विद्युतगृहको दूरी एक हजार सय मिटर र उचाइ चार सय ८५ मिटर छ। पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर बनाइएको विद्युतगृहमा छाना छाउने र पर्खाल लगाउने तयारी भएको छ। 

विद्युतगृहमा जडान गरिने टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकलतर्फका उपकरण आयोजनास्थलसम्म ढुवानी भइसकेको छ। जडानका लागि प्राविधिक टोली आएका छन्। घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालि र सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चर हो। 

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने र सवस्टेशनमा सिभिल संरचना बनाउने काम भइरहेको इन्जिनियर बज्राचार्यले बताए। 

कूल दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैंकले लगानी गरेका छन्। नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन्। विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको सञ्चालकको भनाइ थियो।   -रासस 

प्रकाशित: Sep 25, 2022| 01:00 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।