काठमाडौं– 'राजा पृथ्वीनारायण शाह' भदौ १ गतेदेखि गोरखा दरबार आसपास भेटिन थालेका छन्। शिरमा श्रीपेच र हातमा तरबारसहित भेटिने उनी दरबार हेर्न आउने पर्यटकलाई स–साना बाइसे–चौबीसे राज्यहरूलाई एकत्रित बनाउँदाका कथा सुनाउँछन्। आगन्तुक पर्यटक भने इतिहास मात्रै सुन्दैनन्, उनीसँग सेल्फी पनि खिच्छन्।
जिल्लाभित्रका पर्यटकले २० र बाहिरकाले ५० रुपैयाँ शुल्क तिरेपछि प्रतिविम्ब पृथ्वीनारायणसँग फोटो खिच्न पाइन्छ। फोटो खिचेको पैसा र सहयोगबाट हरेक महिनाको अन्तिम दिन राजा पृथ्वीनारायणले अर्थात् ओमबहादुर श्रेष्ठले पारिश्रमिक पाउँछन्।
प्रतिविम्ब राजा पृथ्वीनारायण बनेका गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म दरबार परिसरमै हुन्छन्। राजा पृथ्वीनारायणकै जस्तो भेषभूषामा सजिएर दरबार परिसरमा देखिन्छन्। जीवनको ६ दशक हिँडिरहेका ओमबहादुर अवकाश प्राप्त नेपाली सेना हुन्।
१७७९ देखि १८३१ भित्र आधुनिक नेपाल निर्माण गर्ने ओमबहादुर श्रेष्ठमा राजा पृथ्वीनारायण शाहको प्रतिविम्ब फर्काउने परिकल्पनाकार हुन्, डा. राजुबाबु श्रेष्ठ।