काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डलार्इ तेस्रो पटक सर्वोच्च अदालले रिहाइको आदेश दिएको छ। यसअघि सर्वोच्चले दुर्इपटक रिहाइको आदेश जारी गरेको पनि प्रहरीले विभिन्न अभियोगमा अदालत परिसर बाहिरबाटै पक्राउ गर्ने गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले थुनामा राख्ने कारण, आधार र प्रमाण नदेखिएको भन्दै सोमबार रिहा गर्न आदेश दिएको हो।
प्रवक्ता प्रकाण्डलार्इ पटक पटक गैरकानुनी थुनामा राख्ने काम गर्दै अदालतको आदेश पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिए।
गैरकानुनी रुपमा करिब सात करोड चन्दा असुलीको अभियोगमा गत साउन २३ गते पक्राउ गरेको थियो। यसअघि ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ १ भदौमा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो।
दोस्रोपटक ७ भदौ पनि सर्वोच्चले रिहाइको आदेश गरेलगत्तै भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले बिहीबार पक्राउ गरेको थियो।
त्यसपछि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो। त्यहाँको अदालतले समेत छाड्ने आदेश विपरित उनलाई पक्राउ गरिएको थियो।
यस्तै, नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै केपी-पीके सरकारले आफ्नो पार्टीका नेता/कार्यकर्तालाई दिनदिनैजस्तो अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता पार्ने गरेको आरोप लगाएका छन्।
उनले सरकारले पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरू किरण राई, दीपेश राई, वेदनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता/कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिइरहेको बताएका छन्।
केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई ५ भदौमा गिरफ्तार गरी अहिलेसम्म बेपत्ता पारेको पार्टीले आरोप लगाएको छ। विप्लवले सरकारले शृंखलाबद्ध गिरफ्तारी तुरुन्त रोक्न र गिरफ्तार सबैलाई ससम्मान रिहा गर्न माग गरेका छन्।
विप्लवले आफ्ना कार्यकर्ता रिहा नगरे संसदीय व्यवस्थाको नेतृत्व गरेको वर्तमान सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४