काठमाडौं- ३४ जिल्लाका ५७ स्थानीय सरकारसँगको समन्वयमा ६ वर्षसम्म सञ्चालन भएको 'पारस्परिक जवाफदेहिता परियोजना' सफल भएको दाबी गरिएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) को सहयोगमा एफएचआई ३६० ले विभिन्न नागरिक संस्थासँगको सहकार्यमा सञ्चालन गरेको परियोजना सफल भएको नेतृत्वदायक संस्था एफएचआई-३६० ले बताएको हो।
बिहीबार काठमाडौँमा आयोजना गरिएको समापन समारोहमा आयोजनाले सुशासनका पक्षमा वातावरण तयार पार्न महत्वपूर्ण भूमिका खेलेको एफएचआई-३६० का कन्ट्री डाइरेक्टर भगवान श्रेष्ठले उल्लेख गरे। 'हामीले काम गरेका ५७ नगरपालिकामा नागरिक संलग्नता र सहकार्यात्मक शासनमा सशक्त सुधार देख्यौँ । परियोजनाले काम गरेका ६ प्रदेशका ३४ जिल्लामा नागरिकलाई आफ्नो सरकारसँग जोड्ने काम गरेको छ। यसको प्रभाव दीर्घकालीन छन्,' उनले भने।
परियोजनाले सङ्घीय र प्रदेश तहमा सार्वजनिक कानुन तथा नीति निर्माणमा नागरिक समाज र सञ्चारमाध्यमको नेतृत्वलाई प्राविधिक सहयोग, रेडियो र सामाजिक सञ्जाललगायत माध्यममार्फत नागरिकको चासोका मुद्दामा कार्यक्रम सञ्चालन गर्नुका साथै सहभागितामूलक पद्धतिबाट जबाफदेहिताको खोजी, नागरिक संस्था र सञ्चारमाध्यमप्रतिको विश्वास, दक्षता र नेतृत्व क्षमता बढाएर जबाफदेही सरकारका लागि पहल, मानवअधिकार क्षेत्रमा क्रियाशील संस्थाको क्षमता विकास र समावेशी सहभागितासहितको जवाफदेही सरकारका लागि दक्षता वृद्धि गर्न ३५ सयभन्दा धेरै गतिविधि गरेको जनाएको छ।
आयोजनाका लागि २२ सहरी र ३५ ग्रामीण क्षेत्रका नगर छानिएका थिए। परियोजना २०१६ अप्रिल ४ देखि २०२२ सेप्टेम्बर ३० सम्म लागू भएको हो। कार्यक्रमका लागि 'इक्वल एक्सेस इन्टरनेसनल' र 'इन्टरनेसनल सेन्टर फर नट फर प्रफिट ल'लगायतले साझेदारी गरेका थिए।