काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित, पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित, असहाय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने बताए।
बिहीबार ४३औं सामाजिक सुरक्षा दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी संघ–संस्थासँग समन्वयात्मक ढंगले काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले सामाजिक संघ–संस्था नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेकाले परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।
सामाजिक सेवाभावको पवित्र उद्देश्यले स्थापना भएको समाज कल्याण परिषद्ले बहुआयामिक क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको बताउँदै उनले सामाजिक संघ–संस्थालाई देश र समाजप्रति उत्तरदायी बनाएर नतिजा दिने गरी सञ्चालन गर्नु अपरिहार्य रहेकामा जोड दिए।
देउवाले गैरसरकारी संघ–संस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रम तर्जुमा गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययीता, स्थानीय आधारमुखी श्रम, सीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्न सके त्यस्ता संस्थाको अपरिहार्यता बढ्ने बताए।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेकाले आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन्।
यो वर्ष ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघ–संस्थाको योगदान’ नाराका साथ सामाजिक दिवस मनाइएको छ। गैरसरकारी सामाजिक क्षेत्रलाई संगठित गर्ने उद्देश्यले ६ असोज २०४३ मा स्थापना भएको समाज कल्याण परिषद्को वार्षिकोत्सवका दिन हरेक वर्ष सामाजिक सेवा दिवस मनाइँदै आएको छ।–रासस