रुपन्देही- मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामाजिक संघसंस्थाहरुले सक्रियता बढाएका छन्।
यस विरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसरमा चेली कृषि सहकारीको आयोजना र के.आई. नेपाल, देवदह नगरपालिका र महिला तथा बालबालिका रक्षक समुहको सहकार्यमा रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा बृहत् र्याली, सडक नाटक प्रदर्शन र सम्मान कार्यक्रम सप्पन्न गरिएको छ।
'संघीयताको सार, मानव बेचबिखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यका साथ गरौँ खबरदार" भन्ने मूल नाराकासाथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश-५ रुपन्देहीका सांसद डा कृष्ण न्यौपाने प्रमुख अतिथि थिए। देवदह नगरपालिकाका उपमेयर विद्यालक्ष्मी गुरुङ र केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई विशिस्ट अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न सहकारी र आमा समुहहरुको उपस्थितिमा भव्यताका साथ उक्त कार्यक्रम सप्पन्न गरिएको थियो। कार्यक्रममा मानव बेचबिखन र लैंगिक हिंसा तथा सबैखाले सामाजिक विभेद अन्त्यका लागि सामुहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
यसै अवसरमा मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका देवदहका तीन महिलाहरू उपमेयर विद्यालक्ष्मी गुरुङ, चेली कृषि सहकारीका अध्यक्ष साबित्रा बस्याल र किशोरी समूहको नेतृत्व गर्दै हाल केआई. नेपालमा परामर्शकर्ता मनु रानालाई सम्मान गरिएको थियो।
विगत ४ बर्षदेखि केआई नेपालले देवदह नगरपालिकामा महिला समूह गठन र परिचालनका माध्यमबाट सयौं महिला र किशोरीहरूलाई महिला सशक्तीकरण र आयआर्जनका तालिम दिई आत्मनिर्भर गराउँदै आइरहेको छ। यसैगरी समुदायका किशोरकिशोरीले सडक नाटक प्रदर्शन गर्दै कार्यक्रममार्फत समुदायलाई सचेत गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४