काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय ग्राम सुन ल्याएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। उनीहरुले उक्त सुन अवैध रुपमा ल्याएको भन्दै पक्राउ गरेको हो।
विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन्।
हिमालय एयरलाइन्सको उडानबाट बुधबार दिउँसो दुबईदेखि काठमाडौँ आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरुबाट भन्सार छली ल्याएको एक-एक थान सुनको सिक्री र एक/एक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए।