काठमाडौं- भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंस्थित भृकुटी मण्डपमा १३ औं नाडा अटो शो-२०१८ हुने भएको छ। सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार-प्रसार-प्रवद्र्धन गर्ने उद्देश्यले उक्त शो गर्न लागिएको हो।
विगत दुई दशक लामो यात्रालाई निरन्तरता दिदै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल तथा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा शो हुने भएको छ । साथै शोको शिर्ष प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्सले गर्ने आयोजकले जनाएको छ।
४-पाङग्रे, २-पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीनवटा ह्याङ्गरहरू राखिएका छन्। प्रदशीनमा १९ वटा ब्राण्डका ४–पाङग्रे तथा २० वटा ब्राण्डका २–पाङग्रे सवारी साधनहरू रहने छन्।
त्यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी शोमा ७१ कम्पनीहरूको सहभागिता रहने भएको छ भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् । प्रदर्शनीमा लोकप्रिय ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत नेपालमै उत्पादित सामग्रीहरू समेत राखिने छन्।
अयोजकका अनुसार अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी प्रदर्शनी क्षेत्रमा २–पाङग्रे, ४–पाङग्रे तथा अटो कम्पोनेन्टहरू छुट्टा-छुट्टै ठाँउमा प्रदर्शनीका लागि राखिनेछन्। साथै सहभागी व्यवसायीहरूले आफ्ना विभिन्न ब्राण्डका सवारी साधन, पार्टपूर्जा तथा अन्य सेवाहरू ग्राहक समक्ष प्रत्यक्ष पुर्याउने तथा प्रत्याशित उपभोक्ताहरूका कौतुहलतालाई सम्बोधन गर्ने प्रयास गरिने आयोजकको भनाइ छ।
प्रदर्शनीमा करिब ६० हजार आगन्तुकहरूले प्रत्यक्ष अवलोकन गर्ने विश्वास लिएको छ।
हेभी कर्मर्शियल गाडी नराखिने
गएका वर्षहरुमा राखिदै आएता पनि यस प्रदर्शनीमा हेभी कमर्शियल गाडीहरू ठाउँ अभावको कारण नराखिने आयोजककले जानकारी गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४