काठमाडौं– नेपाल पत्रकार महासंघले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएको छ। संसद्का दुवै सदनले पारित गरी शीतलनिवास पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थितिबारे महासंघले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।
‘जननिर्वाचित संविधानसभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधैं उभिँदै आएको छ,’ महासचिव रोसन पुरीले जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ सधैं क्रियाशील रहँदै आएको छ। संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थालाई पूर्णतः पालना गर्नपर्दछ भन्ने कुरालाई विशेष जोड दिन चाहन्छ।’
पछिल्लो घटनाक्रमलाई संवैधानिक विधिबाट निकास दिई कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्नसमेत महासंघले सम्बन्धित पक्षलाई सुझाएको छ।