काठमाडौं- देशभरका विभिन्न स्थानमा मंगलबार पाँच जना मृत फेला परेका छन्। सोलुखुम्बु, ताप्लेजुङ, अछाम, धनुषा र दार्चुलामा पाँच जना मृत फेला परेका हुन्।
प्रहरीका अनुसार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ बस्ने ५० वर्षीया फुलमाया खत्री आफ्नै घरमा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।
ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका-३ आँखोप सल्लेरी बस्ने २५ वर्षीय बिक्रम ताम्लिङ सोही ठाउँस्थित साम्सिम खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन्। माछा मार्न भन्दै सोमबार दिउँसो उक्त खोलामा गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो।
अछाम, कमलबजार नगरपालिका-६ हात्तिबाझ बस्ने ४९ वर्षीय दिप्त शाही घर नजिकै बुदेखोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँस घारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
दार्चुला, महाकाली नगरपालिका-५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।