काठमाडौं– बलात्कार वा यौनजन्य कसुरका आरोपीबारे अदालतबाट फैसला हुनुअघि नै अभियुक्तको पहिचान खुलाउने तथा सञ्चार माध्यममा ट्रायल गर्ने कार्य रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ। अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई, ईश्वर देवकोटा र जगन्नाथ दुलालले दायर गरेको रिटमाथि संवैधानिक इजसलामा सुनुवाइ हुने भएको छ।
रिट निवेदकले बलात्कार तथा यौनजन्य आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलाउने कार्यलाई कडाइसाथ रोक्न सरकारी निकाय तथा मिडियालाई समेत आदेश दिन माग गरेका छन्।
रिटमा यौनजन्य अपराध तथा बन्द इजलासमा सुनुवाइ हुने प्रकृतिका फौजदारी अभियोग लागेका अभियुक्तलाई सञ्चार माध्यम तथा सामाजिक सन्जालबाट हुने मिडिया ट्रायल तथा राज्यका अपराध अनुसन्धान गर्ने निकायको लापर्वाहीले कुनै अभियुक्तले अदालतबाट सफाइ पाउँदा उसलाई समाजमा पुनःस्थापना हुन समस्या पर्ने भन्दै क्षतिपूर्ति व्यवस्थासमेत मिलाउन आदेश माग गरिएको छ।
रिटमा कुनै व्यक्ति आरोप लाग्दैमा दोषी नहुने दाबीसहित अभियुक्तको परिचय खुलाउने, तस्बिर सार्वजनिक गर्ने तथा मिडिया र सोसल मिडियाबाट हुने बदनामीको क्षतिपूर्ति नहुने भएकाले मुद्दा किनारा नलागेसम्म परिचय खोल्न नपाइने गरी अन्तरिम आदेश माग गरिएको छ।