धनगढी- कैलालीको घोडाघोडी नगरपालिका-६ बछेरियामा १३ वर्षीया बालिका बलात्कृत गर्नेलाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ।
आफ्नै छोरीसँग पढ्ने साथीलाई भदौ १३ गते राति घरमा एक्लै भएको मौका छोपी बलात्कार गर्ने सोही ठाउका ३२ वर्षीय हर्क भनिने हरिस कुँवरलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनलाई आइतबार लम्की चुहा नगरपालिका–१० चुहाँ गाउँमा आफन्तको घरबाट प्रहरीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो।
प्रहरी भन्छ, अर्को निर्मला काण्ड हुनबाट जोगियो
बलात्कारको यो घट्नालाई प्रहरीले झण्डै कञ्चनपुरकी निर्मला पन्त काण्ड हुनबाट जोगिएको बताएको छ। कैलाली प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले यो घट्नाको प्रकृति हेर्दा निर्मला काण्डजस्तै हुनबाट झण्डै जोगिएको बताए। प्रहरीका अनुसार राति बालिका घरमा एक्लै भएको मौकाछोपी हर्कले बालिकाको दोपट्टाले हात बाँधेर मुखमा कपडा कोचेर बलात्कार गरेको बुझिएको छ।
‘बलात्कार गरेपछि बालिका बेहोस भएपछि छोडेर भागेको देखिन्छ’एसपी घिमिरेले भने,‘बालिकाको ज्यान नै गएको भए त घट्ना निर्मला काण्ड जस्तै हुन्थ्यो ।’ बालिकाले बलात्कारी चिनेकोले पहिचान गर्न सकिएको उनले बताए।
प्रहरीका अनुसार बालिका राति १२ बजेतिर होशमा आएपछि घट्नाबारे खुलेको हो। १३ गते रातिको घट्ना प्रहरीमा भने १५ गते मात्र पुगेको थियो। बालिकाका बुबा आमा अछाम भएकाले घट्नाबारे यकिन नबुझेर प्रहरीमा उजुरी दिन हुँदैन भनेपछि प्रहरीमा उजुरी ढिलो दिएको बुझिएको छ। बलात्कृत बालिका र बलात्कार गर्ने कुँवरको छोरीसँगै एकै कक्षामा पढने साथी हुन भने नाताले पनि मामा भान्जी पर्ने गरेको प्रहरीले जानकारी दिएको छ।
बलात्कारमा संलग्न कुँवरलाई मुलुकी अपराध संहिता २०७४ को दफा २(१९) को उपदफा ३ (ख) बम्मोजिम १४ बर्ष देखि १६ बर्ष सम्म कैद र दफा २२८ बम्मोजिक मनासिब क्षतिपुर्तिको मागदाबि गरिएको घिमिरेले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४