काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ को पार्टी एकीकरणको सन्दर्भमा गजबको ‘बडी ल्यांग्वेज’ देखाउने गरेका छन्, त्यो पनि प्रदेश अध्यक्षको विषयलाई लिएर। पार्टी एकीकरणका लागि उक्त प्रदेशबाट तीन जनाको नाम चर्चामा छ, जसमा जगन्नाथ खतिवडा, देवराज घिमिरे र घनेन्द्र बस्नेत छन्।
खतिवडालाई अध्यक्ष बनाउँदा के होला भनेर सोध्यो भने प्रधानमन्त्रीले नसुनेझैं गर्ने गरेको स्रोतले बतायो। तर, कसैले घिमिरेको नाम लियो भने रुचि देखाउँदै ‘उनले चलाउन त सक्लान् नि’ भनेर सोध्ने गर्छन्।
अहिले प्रदेश-१ को पार्टी एकीकरणमा गजबको समीकरण देखिएको छ। प्रधानमन्त्री ओली र वरिष्ठ नेता झलनाथ खनाल एक ठाउँमा उभिएका छन्। यी दुई नेता एक ठाउँमा उभिँदा माधवकुमार नेपाल पक्षका जगन्नाथ खतिवडा तनावमा परेका छन्।
प्रदेश-१ मा भएका नेताहरूमध्ये सवैभन्दा वरिष्ठ हुन्, खतिवडा। तर, खनाल र ओली मिल्दा प्रदेश कमिटीबाट उनको नामसमेत पठाइएन। तत्कालीन एमालेमा उनी प्रदेश संयोजक हुन्। यस प्रदेशमा सबैभन्दा वरिष्ठ नेता हुन्, भीम आचार्य। आचार्य प्रदेश सांसद छन्। यस्तै, दोस्रो वरिष्ठ नेता हुन्, शेरधन राई।
राई प्रदेश-१ का मुख्यमन्त्री हुन्। यी दुई नेता थान्को लागेपछि प्रदेश अध्यक्ष हुने पालो खतिवडाको थियो। खनाल र ओली मिलेर अर्को खेलो–फड्को गर्दै उनलाई अध्यक्ष नबनाउने प्रयास भएको छ।
आफूसँग सहयोग माग्न पुगेका खतिवडालाई खनालले आफ्नो समर्थन घनेन्द्र बस्नेतलाई भएको जानकारी दिएर पठाएको एक नेताले जानकारी दिए। खनाल पक्षबाट बस्नेत र ओली पक्षबाट घिमिरेको नाम अध्यक्षका लागि केन्द्रमा पठाइएको स्रोतले जानकारी दियो।
बस्नेत लामो समयदेखि भूगोलको राजनीतिबाट टाढा छन् भने घिमिरे एमालेको आठौं र नवौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भई पराजित भएका हुन्। खतिवडा भने केन्द्रीय सदस्यबाहेक पार्टीको अन्य कुनै जिम्मेवारीमा छैनन्।
पार्टी एकीकरणका लागि प्रदेश–१ को अध्यक्षमा जगन्नाथ खतिवडा, देवराज घिमिरे र घनेन्द्र बस्नेतको नाम चर्चामा छ।
आचार्य गत प्रदेशसभाको निर्वाचनपछि खतिवडासँग चिढिएको स्रोतले बतायो। प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्रीका लागि आचार्य र राई दुवैले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए। तर, उनीहरूबीचमा रहस्यमय तरिकाले मुख्यमन्त्रीमा जीवन घिमिरेले दाबी गर्दै अर्को पनि उम्मेदवारी दिए।
राई ओली पक्षका नेता हुन् भने आचार्य र घिमिरे नेपाल पक्षका। प्रदेशसभाको संसदीय दलमा नेपाल पक्षको बहुमत हुँदा हुँदै आपसमा लडेका कारण राईलाई चिठ्ठा परेको थियो।
उक्त निर्वाचनमा जगन्नाथ खतिवडाले घिमिरेलाई उठाएको र आफूलाई हराएको आचार्यले आरोप लगाउँदै आएका छन्। तर, खतिवडाले उक्त आरोपको खण्डन गर्दै आएका छन्। खतिवडाले भने घिमिरेलाई आफू जित्न राईले नै उम्मेदार बनाएको आरोप लगाउँदै आएका छन्। आरोप-प्रत्यारोपका कारण नेपाल पक्षमै फाटो भएपछि त्यसको फाइदा ओली पक्षले उठाउँदै आएको छ।
प्रदेशले पठाएका सबै नाम सदर नहुने
महासचिव विष्णु पौडेलले प्रदेशले केन्द्रमा पठाएका सबै नाम सदर नहुने बताउँदै आएका छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि तलबाट सबै नाम सदर नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ।
सोही आधारमा प्रदेश-१ बाट अध्यक्षका लागि पठाएको नाम विधिसम्मत नभएको एक नेताले बताए। प्रदेश कमिटीले जिल्ला र प्रदेश कमिटीका अन्य सदस्यको नाम पठाए पनि केन्द्रीय समितिका सदस्यको नाम नपठाउन पार्टी केन्द्रले आन्तरिक सर्कुलर गरेको थियो।
त्यसरी नाम पठाउँदा केन्द्रीय सदस्यहरूसँग परामर्श गरेर पठाउनु भन्ने निर्देशनसमेत प्रदेश-१ मा उल्लंघन भएको ती नेताले बताए। त्यसैगरी, नाम पठाउँदा वरिष्ठता र एकीकरणको भावनालाई ख्याल गरेर पठाउनु भन्ने केन्द्रको निर्देशनलाई समेत आचार्यले उल्लंघन गरेको एक नेताले बताए। प्रदेश–१ मा अध्यक्ष पूर्वएमाले र सचिव पूर्वमाओवादीले पाउने सहमति भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४