कैलाली- कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ। जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्।
जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन्। सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन्।
बाढीका कारण तीन जनाको ज्यान गएको छ। बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो।
बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ। घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ। बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ। सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन।
भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बसेकी छन्। विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहेकी छन् भने उनका वस्तुभाउ पनि भोकै छन्। उनलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ। ‘वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ। अब घाँस पनि बाढीले नोक्सान भयो’, उनले भनिन्, ‘अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन्।’
वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहेकी छन्। उनले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाइन्।
वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ। उनको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ। वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ।
शनिबार विस्थापित भएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन। उनीहरू पनि वस्तुभाउसहित सडकमा बसेका छन्। विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ। बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ। यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ।
खुला आकाशमा सडकमै बसिरहेकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ। उनको घरखेत सबै बाढीमा मिसिएकाले परिवार र उनले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ।
भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताए। उनले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताए।
पशु शाखा प्रमुख जैसीले आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताए।
यसैबीच भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ। नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको हो। -रासस