शुक्रबार, साउन १, २०८३

चुलियो व्यापार घाटा, एक महिनामै खर्ब नाघ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एक महिनाको अवधिमै विभिन्न मुलुकसँग नेपालले एक खर्र्ब १३ अर्ब ६८ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । आफ्नो देशमा उत्पादन गर्न नसक्नु र अधिकांश सानादेखि ठूला वस्तु तथा सामग्रीमा अन्य देशसँग परनिर्भर हुनुले व्यापार घाटा डरलाग्दो रूपमा चुलिँदै गएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७५÷७६ को पहिलो साउन महिनामा विभिन्न मुलुकसँग कुल एक खर्ब २७ अर्ब ५३ करोड रुपैयाँको व्यापार भएको छ । जसमा एक खर्ब २० करोड ६१ अर्बको आयात भएको छ भने ६ अर्ब ९२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

सरकारले व्यापार घाटा कम गर्न विभिन्न प्रतिबद्धता गरे पनि सबै नारामै सीमित देखिन्छ । चालु आवको पहिलो महिनामा गत आवको सोही अवधिको तुलनामा ६२ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ।

गत आवको पहिलो महिना ७६ अर्ब ७३ करोड रुपैयाँका विभिन्न बस्तु तथा सामग्री आयात हुँदा ६ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको थियो । जसबाट मुलुकलाई ७० अर्ब दुई करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।

अघिल्लो आव ०७३÷७४ को सोही अवधिमा मुलुकको व्यापार घाटा ६३ अर्ब २१ करोड रुपैयाँ थियो । पछिल्ला वर्षहरूमा उच्च दरमा घाटा बढेको विभागको तथ्यांकले देखाउँछ।

विभागका अनुसार गत वर्ष साउनमा हवाई जहाज तथा पाटपूर्जा एक अर्ब ४४ करोड रुपैयाँको मात्र आयात गरिएकामा यस वर्षको सोही महिनामा उक्त रकम बढेर १३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

पेट्रोलियमको आयातमा ८७ प्रतिशत वृद्धि

पेट्रोलियम इन्धनको आयात पनि ह्वात्तै बढेको छ। चालु आवको पहिलो महिनामा सबै प्रकारका पेट्रोलियम इन्धनको आयातमा ८७ प्रतिशत वृद्धि भएको छ । गत आवको साउनमा नौ अर्ब ६९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ विभिन्न मुलुकबाट आयात भएको थियो। चालु आवको सोही अवधिमा १८ अर्ब १० करोड रुपैयाँको आयात भएको छ।
 

हवाई जहाज तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, फलाम र स्टिलको आयात उच्च भएकाले पनि व्यापार घाटा बढेको विभागका अधिकारीहरूको भनाइ छ ।


यस्तै, फलाम तथा स्टिलजन्य वस्तुको आयात ६९ प्रतिशत बढेको छ। गत आवको पहिलो महिना आठ अर्ब ६३ करोड रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तुहरूको आयात भएकामा चालु वर्षको सोही अवधिमा त्यस्ता वस्तुको आयात १४ अर्ब ६२ करोड रुपैयाँ बराबर पुगेको छ।

हवाई जहाज तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, फलाम र स्टिलको आयात उच्च भएकाले पनि व्यापार घाटा बढेको विभागका अधिकारीहरूको भनाइ छ।

अन्य वस्तु तथा सामग्रीको आयात पनि ३२ प्रतिशतले बढेको छ। गत आवको साउनमा ५७ अर्ब रुपैयाँका वस्तु तथा सामग्री आयात भएको थियो। चालु आवको सोही महिनामा बढेर ७५ अर्ब रुपैयाँ पुगेको छ।

सबैभन्दा बढी आयात र घाटा भारतसँग

सबैभन्दा बढी आयात तथा व्यापार घाटा भारतसँग भएको देखिन्छ । विभागको तथ्यांकअनुसार नेपालबाट भारतमा तीन अर्ब ९८ करोड रुपैयाँको निर्यात हुँदा भारतबाट ७१ अर्ब रुपैयाँको आयात भएको छ । भारतसँग चालु आवको पहिलो महिनामै व्यापार घाटा ६७ अर्ब एक करोड रुपैयाँ भएको छ।

यस्तै, दोस्रोमा चीनसँग १४ अर्ब ८५ करोड, फ्रान्ससँग १२ अर्ब ७४ करोड, संयुक्त अरब इमिरेट्ससँग दुई अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ।

साउनमा कुल एक खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको विभिन्न मुलुकसँग व्यापार भएको छ। त्यसमा निर्यातभन्दा आयात १७ गुणा बढी छ। त्यसअनुसार आयातको हिस्सा ९४.६ प्रतिशत छ भने निर्यात ५.४ प्रतिशत मात्रै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्