शुक्रबार, जेठ १, २०८३

सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै

रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृद्धि हुँदै गएको हो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

मतोत्तरी- चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ। रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृद्धि हुँदै गएको हो।

National life

त्रेतायुगमा राम–सीताको विवाह हुँदा वेदी (यज्ञस्थल) बनाउन मटिहानीकै माटो खनिएको विश्वास गरिन्छ। त्यतिखेर माटो खनिएको ठाउँ लक्ष्मीसागर सम्पूर्ण हिन्दूहरूको आस्था, भक्ति र दर्शनीयस्थल रहँदै आएको छ। अवधबाट राजा दशरथ जन्ती लिएर मटिहानी हुँदै जनकपुर गएका जनश्रुति मटिहानीमा सुनिन्छन्।

धार्मिक महत्वको यो पौराणिकस्थलमा बितेको सातामै कतिपय योजना सम्पन्न भएका छन्। यसैगरी कतिपय योजनाको निर्माण काम थालिएको छ। मटिहानीस्थित  लक्ष्मीनारायण मन्दिर र बजारबीचमा भव्य आकर्षक द्वार निर्माण सम्पन्न भएर शुभारम्भ भएको छ। यसैगरी मटिहानी–५ स्थित  गोबरौरा र धनुषाको घोडघास जोड्ने सडकको दूधमती नदीमा नयाँ झोलुङ्गे पुल बनेको छ।  

मटिहानी–३  झिझाखोलामा आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइको र मटिहानी–८ र धनुषाको तुल्सियाही जोड्ने बिग्ही नदीमा पाँच मिटर चौडाइ र ४५ मिटर लम्बाइको पक्की पुल निर्माण थालिएको छ। निर्माण सम्पन्न भई सञ्चालनमा आएका प्रवेशद्वार रु २८ लाख र झोलुङ्गे पुल रु ४५ लाखको लागतमा सम्पन्न भएका हुन्। त्यसैगरी झिझाखोला पुल र बिग्ही पुल क्रमशः रु ३५ र ६५ लाखको लागतमा निर्माण थालिएका नगरपालिकाका इञ्जीनियर विमलेश साहले जानकारी दिए।

यसअघि नै मुलुकभरिकै मठहरूको नायक मठ लक्ष्मीनारायण मठ परिसरमा झुलाघर निर्माण र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माणकार्य सम्पन्न भइसकेका छन्। मटिहानी–जनकपुर (रामजानकी) सडक र मटिहानी–जलेश्वर सडकमा निर्माण भएका कलात्मक प्रवेशद्वारले यस ठाउँको सांस्कृतिक र धार्मिक महत्ता उजागर गरेका बताइएको छ। 

‘हामीसँग भएको मुख्य कुरा नै यस ठाउँको धार्मिक र सांस्कृतिक परिचय हो, मटिहानीको विकासको आधार धार्मिक पर्यटनमै खोजिनुपर्छ र अहिले यी कामले प्राथमिकता पाएका छन्’, मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझी भन्छन्, ‘पछिल्ला पाँच वर्षयताका विकास पूर्वाधारका काममा धार्मिक महत्वका कामले महत्व पाएका छन्।’ मटिहानीमा गत वर्षमात्रै  अत्याधुनिक रङ्गशाला निर्माण सम्पन्न भएको थियो।

मटिहानीको धार्मिक परिचयको कुरा उप्कनासाथ यहाँको धार्मिक र सामाजिक सद्भावको उदाहरण हरकोहीले दिने गर्दछन्। आधुनिक मटिहानी निर्माणमा हिन्दू परम्पराका साधु तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाले जग बाँध्नुभएको हुँदा यहाँ दुवै परम्पराका चाडपर्व एकापसमा मिलेर उल्लाससाथ मनाइने गरिएको मटिहानीका बासिन्दा शिक्षा तथा संस्कृतिविद् चन्देश्वर साह बताउ छन्।

‘लक्ष्मीसागरको उत्तरतटमा लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर छन्, पश्चिमीदक्षिणी तटमा सन्त पिरबाबाको मजार छ’, उनी भन्छन्, ‘यी स्थल हाम्रा साझा तीर्थस्थल हुन्, पिरबाबाको मजारमा दुःख पुकारा गर्न पुग्नेमा हिन्दू–इस्लाम धर्मावलम्बी सराबरी हुने गर्छन्।’ आफ्नो ठाउँका मुख्य पर्व साउने झुला महोत्सव, विजयादशमीका दिनको रावणवध उत्सव, फागु, दशैँ, तिहार, छठ, मुहर्रम, इद–उल–फित्र, सवेबरात र इद–उल–जोहामा सबै समानरूपले उत्सवमा झुम्ने गरेको उहाँको भनाइ छ।

भारतसँग सीमा जोडिएको यो ठाउँका सीमा वारिपारिका मटिहानी र मधवापुर बजार एकापसमा अभिन्न रुपले जोडिएका छन्। दोहोरो सामाजिक सम्बन्धले दुवैतर्फका नागरिकका दुःखसुखमा दुवैतिरका नागरिक सरिक हुने गर्छन्। यसबाहेक मटिहानी प्राचीन शिक्षा र साहित्यको साधना केन्द्र पनि रहेको छ।

यहाँस्थित तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र माहामुनि याज्ञवल्क्य र भगवान् लक्ष्मीनारायणका नाउँमा स्थापित/सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) संस्कृत भाषा र साहित्यको साधनास्थल रहेका छन्। विद्यापिठमा स्नातकोत्तरसम्मको अध्ययन/अध्यापन हुने गरेको छ।

गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालगुरु षडाननले पनि पढ्नुभएको संस्कृत विद्यालय परिसरको अवलोकन गरे​पछि यो ठाउँ शैक्षिक पर्यटनको पनि केन्द्र बनेको छ। विद्यालयमा देशदेशावरका विद्वानको आगमन बाक्लिएको प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउछन्।

आफ्नो नगरको धार्मिक, शैक्षिक र सांस्कृतिक परिचयको विस्तार र प्रवद्र्धनले नयाँ सम्भावनाका द्वार खुल्ने नगरप्रमुख हरिप्रसाद मण्डलको विश्वास छ। आफ्नो नेतृत्वको जनप्रतिनिधि टिम यसै दिशामा दत्तचित्तसाथ अघि बढेको उनको भनाइ छ।  -रासस

प्रकाशित: Sep 20, 2022| 08:16 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।