काठमाडौं- दशैंको अवसर पारेर असोज दोस्रो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। मेलाको आयोजक इभेण्ट सोलुसन प्रालिले असोज ११ गतेदेखि नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा मेला आयोजना गर्न लागेको हो।
बर्षैपिच्छे आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’नारा दिइएको छ। पाँच दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए। ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल, होम अप्लाइन्सेजका स्टलहरु राख्ने छौं,’उनले भने।
उनकाअनुसार मेलामा एक सयभन्दा धेरै स्टलहरु रहने छ। साथै बजारको तुलनामा सस्तो मूल्यमा सामानहरु उपलब्ध गराउने उनको दाबी छ।
आयोजककाअनुसार दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ मेलाको आयोजना गर्न लागिएको हो। मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास आयोजकको छ ।
आयोजकले ५० हजार उपभोक्ताले मेला अवलोकन गर्ने अपेक्षा गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४