काठमाडौं- काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै सोमबार गोली चल्यो। गोली प्रहारबाट लाल मोहम्मद घाइते भएका छन्। उनको अन्य विवरण खुल्न बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखाइ अनुसार लाल मोहम्मद निजी नम्बर प्लेटको गाडीबाट उत्रिनेबित्तिकै उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन्। सेतो लुगा लगाएका मोहम्मद गाडीबाट उत्रिने वित्तिकै गोली चल्न सुरु भएपछि उनी बच्नका लागि गाडी वरीपरी फन्को लगाउन थाले।
तर, रातो लुगा लगाएका पेस्तोलधारीले लगातार उनीमाथि गोली चलाए। दुई जनाले वरीपरीबाट घेरेर उनीमाथि गोली हानी फरार भएको भिडियो फुटेजमा देखिएको छ। गोली लागेर घाइते भएका छन् मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।
उनले भने, 'पेस्तोलबाट गोली चलेको देखिएको छ। हामी गोली चलाउने अज्ञात व्यक्तिको खोजी गरिरहेका छौं।'
के कारणले घटना भयो भन्ने पनि अझै खुल्न सकेको छैन। उनले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए। घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान सुरु गरेको छ। गोली प्रहार भएको स्थानबाट २ राउण्ड लोड, १ भुइँमा खसेको र १ गोलीको खोकासहित यूएसए पेस्तोल फेला परेको छ।