काठमाडौं- नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क सिम उपलब्ध गराउने भएको छ। उक्त सिममा ३ हजार एमबी डाटासहित सुविधा पनि प्रदान गरिने टेलिकमले जानकारी दिएको छ।
सिईई उत्तीर्ण विद्यार्थीले सिम खरिद गर्नका लागि कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्ने र सिम लिइसकेपछि स्ट्युटेन्ड रजिस्ट्रेसन प्याकमा दर्ता गराउनुपर्ने टेलिकमले बताएको छ। मोबाइल नम्बरबाट एस्ट्रिक १६०० ह्यास (*1600#) डायल गरी सिम्बोल नम्बर र जन्म मिति टिपाउनुपर्ने उल्लेख गरिएको छ।
उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ। यो सुविधा ३० दिनसम्म निरन्तर हुने टेलिकमले जानकारी दिएको छ। एक महिनामा ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यो अफर भएको नयाँ सिममा रिचार्ज गर्दा समेत बोनस पाइने टेलिकमले जानकारी दिएको छ। ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ। यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ। बोनस सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ।
विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेशन प्याक सुविधासमेत उपयोग गर्न सक्ने समेत बताएको छ। पुरानो नम्बरबाट एस्ट्रिक १६०० ह्यास (*1600#) मा डायल गरी विद्यार्थीको सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ। हाललाई एसईई अफरसहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुनेछ।