शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ। जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

कैलाली- कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ। जिल्लाको भजनीस्थित हुलाकी सडकमा  दुई वर्ष मुनीका बालबालिका  पनि छन्। सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन्। बालबालिका र आमाहरुलाई थप समस्या भएको छ।

National life

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ। उनको घर बाढीले डुबेपछि उनी बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आइन्। बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उनलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ। ‘आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैँ भोकै छु’, उनले भनिन्, ‘पेटभरि पानी खान पनि पाइएको छैन। गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ।’

दीपा सुनार र उहाँको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ। ‘घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ’, उनले भनिन्, ‘यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोँच्छ। बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो।’ 

अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आइन्। भिज्दै आएकाले होला उनको नौ महिनाको बच्चा बिरामी भइसकेको छ। उनको बच्चालाई रुघाखोकी सुरु भएको छ। ‘घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ, बच्चा भिजेर निर्थुक्कै भएको थियो’, उनले भनिन्, ‘लौ न सरकार भएको महसुस गराइदिनुपर्‍यो। हामी त बर्बाद भयौँ।’

भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ। घरमा छिनछिनमा खानेकुरा खाने सानुको बच्चाले शनिबार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ। ‘हामी त दुःखसुख सहन सक्छौँ, बच्चाले सहन सकेको छैन, घर जाउ भन्छ, घर बाढीमा डुबेको छ’, उनले भने , ‘लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन। घरमा के के बग्यो थाहा छैन।’

भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै सो दिन खटिसकेका जानकारी दिए। ‘हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँ, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ’, उनले भने, ‘यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन। अब हामी पोषणमा समेत ध्यान दिन्छौँ।’

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन्। यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ।

 महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताए। ‘सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा चाहिन्छ’, उनले भने, ‘महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय, पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ।’

यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उनको भनाइ छ। बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन्। प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन्।  --रासस

प्रकाशित: Sep 19, 2022| 10:18 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।