शुक्रबार, जेठ १, २०८३

कैलालीका बाढी विस्थापितलाई गासबासको समस्या

कैलालीको भजनी नगरपालिका-८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्। वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

भजनी- कैलालीको भजनी नगरपालिका-८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्। वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ। घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ।

National life

'ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौँ। ज्यान सुरक्षित छ। पानी र खानाको निकै समस्या भयो', रुपाले भनिन्, 'खाना नभए पनि पानीविना निकै कष्ट भोग्नुपरेको छ। हाते पम्प डुबानमा छन्। जताततै डुबानमात्रै देखिन्छ। पानीको जोहो कतैबाट भए राहत हुने थियो।' सो क्षेत्रमा डुबान विस्तारै कम हुँदै गए पनि स्थानीयलाई घर फर्कन अझै एक हप्ता लाग्ने उनले बताइन्।

भजनीकै पर्शुराम चौधरीले तीन दिनदेखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको गुनासो गरे। 'जसोतसो ज्यान जोगियो। अहिले खुला आकाश मुनि बस्नुपरेको छ', पर्शुरामले भने, 'आफूसँग त्रिपाल पनि छैन। मागौँ भने सबैलाई आफ्नै समस्या छ। सरकारले त्रिपाल र पानी दिए पनि हामीलाई ठूलो राहत हुने थियो।' उनले सडक आसपास बसेकालाई सहज भए पनि गाउँका बीचमा आश्रय लिएर बसेकाको जनजीवन निकै कष्टकर रहेको बताए।

गाउँको बीचमा आश्रय लिएर बसेका विस्थापितलाई राहत तथा पानी पुर्‍याउनसमेत निकै समस्या भएको छ। पैदल जानसक्ने अवस्था छैन। डुङ्गाको साहारामा विस्थापित परिवारलाई राहत पुर्‍याउन आवश्यक स्रोतको अभाव भएको स्थानीय जयप्रसाद ढुङ्गानाले बताए। 'हुलाकी सडकमा बसेका स्थानीयलाई नगरपालिकाले एकपटक पानी र चाउचाउ वितरण गरेको थियो। गाउँभित्र बसेकाले त्यो पनि पाएका छैनन्', ढुङ्गानाले भने, 'पैदल वा सवारीसाधन लिएर जान सकिने अवस्था छैन। जानका लागि डुङ्गा चाहियो। सहजै डुङ्गा उपलब्ध हुने अवस्था  छैन।'

अझै भजनीमा एक वडाबाट अर्को वडामा सहजै जानसक्ने स्थिति छैन। एक गाउँबाट अर्को गाउँसम्म जानसक्ने अवस्था छैन। 'आवागमननै प्रभावित भएको छ। प्रत्यक्ष सम्पर्क हुन सकेको छैन', नगर प्रमुख केवल चौधरीले भने, 'हामीले सम्बन्धित वडालाई जिम्मा दिएका छौँ।'

उनले तीन/चार हजार जनसङ्ख्यालाई नगरपालिकाले मात्रै राहत वितरण गर्नसक्ने अवस्था नरहेको बताउँदै अन्य सङ्घसंस्थालाई समेत सहयोगका लागि आग्रह गरिएको बताए। 

नगर प्रमुख चौधरीले डुङ्गा तथा बोट नहुँदा पनि प्रभावितलाई राहत पुर्‍याउन समस्या भएको बताए। 'नगरपालिकाका सबै वडा डुवानमा छन्। हामीसँग भएको चारवटा बोटमध्ये दुईवटा मात्रै सञ्चालनमा छन्। दुई बोटले सबै क्षेत्रमा पुग्न कठिन भएको छ', नगर प्रमुख चौधरीले भने, 'अन्य सङ्घसंस्थासँग सहयोग मागेका छौँ। दुईवटा बोट सहयोगगर्ने कुरा भएको छ। थप दुई वटा भए अलि सहज हुनसक्छ।'

उता जोशीपुर गाउँपालिकामा भने जनजीवन सामान्य बन्न थालेको छ। गाउँपालिकामा बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले विस्थापितको तथ्याङ्क लिने काम सुरु गरिएको बताएका छन्। 

उनले पानी कम भएसँगै स्थानीय आफ्नो घर जानेक्रम चलेको बताउँदै विस्थापित परिवारलाई तथ्याङ्कका आधारमा गाउँपालिकाले राहत वितरणगर्ने बताए। 'पहिले तथ्याङ्क सङ्कलन गर्छौं। त्यसपछि राहत वितरणको काम गर्नेछौँ', अध्यक्ष चौधरीले भने, 'बाढी घटे पनि अवस्था सहज हुन अझै हप्तौँ लाग्छ । त्यहाँसम्म विस्थापितलाई गाउँपालिकाले आफ्नो स्रोतले भ्याएसम्मको सहयोग गर्छ।'

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अविरल वर्षाका कारण प्रभावित भएको कैलालीको जनजीवन सामान्य अवस्था फर्किन थालेको बताएका छन्। उनका अनुसार वर्षा रोकिएपछि बाढीको मात्रा घट्दै जाँदा बाढी, डुवानबाट आंशिकरुपमा प्रभावित भएकाको जनजीवन सामान्य बन्दै गएको बताउँदै पूर्णरुपमा विस्थापितका लागि आवश्यक राहत तथा अन्य सहयोगका लागि समन्वय भइरहेको बताए।

'बाढीबाट बढी प्रभावित भजनी क्षेत्रका लागि नेपाल रेडक्रस र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ', प्रमुख जिल्ला अधिकारी थापाले भने, 'हामीले स्थलगत अवलोकनपछि कताको अवस्था के छ भन्ने र त्यसैअनुसारको राहतको समन्वय गर्ने तयारी भएको छ।' बाढीका कारण कैलालीमा दुई जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। -रासस

प्रकाशित: Sep 19, 2022| 07:19 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।