काठमाडौं- परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको ७७औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार परराष्ट्र सचिव पौड्याल त्यसतर्फ प्रस्थान गरेका हुन्।
न्युयोर्कमा रहँदा उनले ७७औँ संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिवले संयुक्त राष्ट्रसंघका साइडलाइनमा हुने उच्चस्तरीय बैठकमा सहभागी हुनुका साथै राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
गत वर्ष महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. नारायण खड्का गएका थिए। यसपटक मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन लागेको सन्दर्भमा फरक सन्देश जाने भन्दै परराष्ट्रमन्त्री नगएको बताइएको छ।
परराष्ट्रमन्त्री खड्का बेलायती महारानी एलिजावेथको अन्त्येष्टिमा सहभागी हुने बेलायत गएका हुन्। हाल उनी बेलायतमा छन्।