शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ : मन्त्री खाण

सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ : मन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन्। 

National life

काठमाडौं उपत्यका प्रहरी कार्यालयले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज  यहाँ आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम’मा उनले सरकारको प्रमुख लक्ष्य नागरिकको रक्षा भएको बताएका हुन्। 'मानिसको जीवन ज्यादै महत्वपूर्ण छ, नागरिकको रक्षाका लागि समाज र राज्यको निर्माण भएको हो, सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ,' उनले भने। 

गृहमन्त्री खाणले कोही व्यक्तिले आत्महत्याको बाटो रोज्न नहुने बताउँदै भने, 'हरेक व्यक्तिले आफ्नो जीवन, परिवार, इष्टमित्र, छरछिमेकको जीवन रक्षाका लागि लागौँ, कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस्।' उनले सीमित स्रोतसाधनका बीच नेपाल प्रहरीले जनधनको रक्षा र शान्ति क्षेत्रका लागि गरेको कामको सराहना गरे।

मन्त्री खाणले देशको विकासका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको बताए। महान्यायाधिवक्ता खम्बबहादुर खातीले आत्महत्यासम्बन्धी समस्या पहिचान गरेर त्यसको निराकरणका लागि लाग्नुपर्ने बताए। उनले विश्वका १९६ मुलुकमध्ये आत्महत्या गर्ने देशमध्ये नेपाल १२६औँ स्थानमा रहेको बताए। महान्यायाधीवक्ताको कार्यालयले आत्महत्या रोकथामका लागि पञ्चवर्षीय योजना बनाएर अगाडि बढेको उनको भनाइ थियो।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हरेक व्यक्तिले आफूलाई कमजोर ठान्दा आत्महत्याको बाटो रोज्ने गरेको बताए। 'जिन्दगी र खेलमा सधैँ जित्न सकिन्छ भन्ने छैन, हार्न पनि जान्नुपर्छ, आफूलाई समस्या परे आफ्नो परिवार तथा आफन्तलाई समस्या शेयर गरेर समाधान निकाल्नुपर्छ,' उनले भने। सधैँ सामाजिक सञ्जालमा झुण्डिएर नबस्न विद्यार्थीलाई उनले आग्रह गरे।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरीले आत्महत्या रोकथामलाई प्राथमिकता दिँदै आएको बताए। 'आत्महत्या रोकथाम गर्न प्रहरी एक्लैले सक्दैन, सबैको साथ सहयोगबाट आत्महत्या न्यूनीकरण गर्न सकिन्छ,' उनले भने।   

गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले व्यक्ति, परिवार, समाज र राष्ट्रको साझा प्रयासले आत्महत्या रोकथाम गर्न सकिने बताए। आत्महत्याको कारण खोजेर यसको समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, सामुदायिक सेवा केन्द्र गोँगबुका अध्यक्ष राकेश सिंहलगायतले सबै क्षेत्रको सहकार्य र हातेमालोले आत्महत्यालाई रोक्न सकिने बताएका थिए।

नेपालमा १५ वर्षदेखि २९ वर्षसम्म र ४५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ। नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक एवं मनोचिकित्सक डा आशिष दत्तका अनुसार विश्वमा प्रत्येक वर्ष सात लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेका छन्।

नेपालमा आव २०७८/०७९ मा आत्महत्याबाट छ हजार आठ सय ३० जनाको ज्यान गएको छ। आत्महत्याको प्रमुख कारण मानसिक रोग भएको डा दत्तको भनाइ छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले आत्महत्या जटिल रूपमा अगाडि बढेको भन्दै यसलाई रोकथाम गर्न सबै एकजुट हुनुपर्ने बताए। 

प्रकाशित: Sep 18, 2022| 20:53 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।