आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

५२२ नम्बरमा रोकियो एक मलामी

वास्तविक नाम रामबहादुर गुरुङ, साहित्यिक नाम गुरुङ रामप्रकाश समथिङ भए पनि आम जिल्लावासीसँग ‘राम सर-दाइ-भाइ’ वा ‘समथिङ सर-दाइ-भाइ’ नामले प्रख्यात व्यक्तित्व ५२२ नम्बरसम्म मलामी भई सदाका लागि रोकिएको छ।
 |  आइतबार, असोज २, २०७९
nespernesper

रासस

रासस

आइतबार, असोज २, २०७९

पाँचथर- आधा बाहुलाको सर्ट, हाफ पाइन्ट र स्याण्डिल लगाएको, कम्मरमा दाउ (खुकुरी) भिरेको, अग्लो र पातलो कदको एक अधबैंसे फिदिम र आसपासको क्षेत्रमा मृत्युका घटनामा प्रायः पुगेकै हुन्थ्यो। ऊ बढी केही थिएन, अरुजस्तै एक मलामी थियो। तर भूमिका भने सधैँ फरक हुन्थ्यो। घरबाट शव उठाउनदेखि घाटसम्म पुर्‍याउन ऊ लागिरहेकै हुन्थ्यो। शव जस्तोसुकै भए पनि उसले एक मानवका रूपमा दाहसंस्कारदेखि मृत्युकार्यमा सरसहयोग गर्थ्यो। 

triton college

बेवारिसे अवस्थाका मृत्युदेखि कालगतिका मृत्युका घटनामा पुग्ने ऊ मलामीमा मात्रै सीमित हुँदैनथ्यो। दाउरा किनेर शव जलाउने नसक्नेहरुका लागि रकम संकलन गर्ने, काजक्रियाका लागि सहयोग उठाइदिने जस्ता कार्यमा उसले समाजलाई आह्वान गर्दथ्यो। उसको घोषित व्यक्तिगत सिद्धान्त थियो- ‘बाँच्दाको जन्ती र मर्दाको मलामी, जन्ती जान निम्तो हुन्छ तर मलामी जान निम्तो हुँदैन। त्यसैले कसैको मृत्युको खबर सुनेपछि भ्याएसम्म र सकेसम्म सहभागी हुनु मानवीय कर्तव्य हो।’

यसरी मलामी जाने मात्रै होइन, मलामी गएको कुरा दैनिकीसहित डायरीमा लेख्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने पाँचथरको एक सुपरिचित नाम थियो- रामप्रकाश समथिङ। वास्तविक नाम रामबहादुर गुरुङ, साहित्यिक नाम गुरुङ रामप्रकाश समथिङ भए पनि आम जिल्लावासीसँग ‘राम सर-दाइ-भाइ’ वा ‘समथिङ सर-दाइ-भाइ’ नामले प्रख्यात व्यक्तित्व ५२२ नम्बरसम्म मलामी भई सदाका लागि रोकिएको छ। 

समाजका हरेक क्षेत्रलाई सहयोग गरी वास्तविक ‘समाजसेवी’को उपमा पाएको उही प्रिय व्यक्तित्वको ५३ वर्षको अल्पायुमा बिहीबार झापाको बिर्तामोडमा उपचारका क्रममा निधन भयो। पत्रकारिता, साहित्य, मानवअधिकार, नागरिक आन्दोलनलगायत आम क्षेत्रमा क्रियाशील रहेका समथिङको शनिबार शवयात्रासहित दाहसंस्कार गरिएको छ। फिदिम–१ भानुमार्गस्थित उहाँको घरबाट सुरुआत भएको शवयात्रा बजार परिक्रमापछि फेमे खोला घाटमा दाहसंस्कार गरिएको हो। शवयात्रा तथा दाहसंस्कारको कार्यमा फिदिमसहित जिल्लाका विभिन्न स्थानका हजारौँ मानिस मलामीका रूपमा सहभागी भएका थिए।

समथिङलाई बिदाई गरिरहँदा अधिकांशले उनको मलामी यात्राको स्मरण गरेका थिए। ६२ वर्षको उमेरमा निधन भएका फिदिम-१ लखनमार्गका डम्बरबहादुर ग्याङ्मी मगरको भदौ २५ गते शनिबार जीवनको ५२२औँ मलामीका रूपमा फिदिमकै नरेश आङ्बोसँग सहभागी हुनुभएका समथिङ ज्वरोले सताएपछि फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पताल भर्ना भएका थिए। शरीरमा अक्सिजनको कमी, रगतमा प्लेटलेट्स तथा रक्तचाप कमी, स्वासप्रश्वासमा समस्यालगायत स्वास्थ्य जटिलता बढ्दै गएपछि उक्त अस्पतालका चिकित्सकले उहाँलाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा रेफर गरेका थिए। 

Metro Mart
vianet

तर समथिङको उपचारका क्रममा बिएण्डसी अस्पतालमा बिहीबार निधन भएको थियो। यसरी सबैको मलामी बन्ने, समाजसेवालाई आफ्नो दायित्व ठान्ने र कुनै स्वार्थ नराखी सेवाभावमा समर्पित हुने समथिङ ५२२ नम्बरसम्म मलामी भई विदा भए।

मलामी जानेमात्रै होइन, समाजमा आइपरेका हरेक समस्या, अप्ठ्यारा र असजिलामा उपस्थित हुने, दीन दुःखी, अशक्त, असहाय र समस्यामा परेका मानिसहरुलाई सहयोग गर्ने पहिलो नाम थियो, रामप्रकाश समथिङ। हक्की र स्पष्ट स्वभावका समथिङको परिचय बहुआयामिक छ। 

पाँचथरजस्तो सुदूरपूर्वका जिल्लामा बसेर देश विदेशले चिनेको समथिङले अमूल्य निधिका रूपमा पाठकहरुलाई ५५ वटा पुस्तक समर्पण गरेर विदा हुनुभएको छ। संस्मरण, कथा सङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, जानकारीमूलक तथ्याङ्कीय सामग्रीलगायत समाविष्ट उहाँका कृतिहरु पनि विशेष प्रकारका कार्यक्रमहरुमार्फत लोकार्पण गरिएका थिए। 

विपन्नको उपचारदेखि घर निर्माणसम्मका कार्यको अगुवाइ गर्नुभएका उहाँले आफ्नै संरक्षकत्वमा ‘समथिङ फाउण्डेसन नेपाल’ नामको संस्था स्थापना गरी उक्त कार्यलाई निरन्तरता दिने व्यवस्था गरेका छन्। उनकै अग्रसरतामा फिदिम–४ को गढी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग गर्ने कार्यले एक हदसम्म सफलता नै पाएको छ। समाजलाई बाटो देखाउनुभएका समथिङको ५३ वर्षको उमेरमा देहवसान हुँदा शवयात्रा र दाहसंस्कारमा सहभागी हजारौँ मलामीका आँखा रसाएका थिए।

बालबालिकादेखि ज्येष्ठ नागरिकससम्म सबैलाई समभावले हेर्ने, बोलाउने र कुराकानी गर्ने, सबैको भलो होस् भन्ने उद्देश्यले हक्की स्वभावले सुझाव दिने समथिङको बानी सबैका लागि प्रिय थियो। सदरमुकामका प्रायः सबै मानिसहरुका कुनै न कुनै काम गरिदिएका समथिङको जिल्लाका कुना कन्दरासम्म परिचय थियो। पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रको यात्रा सुरुआत गर्नुभएका उहाँ लामो समयसम्म मानवअधिकार चेतना र विकास केन्द्र (हुकोडेक नेपाल) नामक संस्थामा आबद्ध थिए। 

गत वैशाख १ गते जनसेवाश्री पदकबाट समेत विभूषित भएका उनी २०२६ साल माघ २९ गते जिल्लाको नाङ्गिनमा जन्मिएका थिए। उनले एकै पटक २२ वटा कृति जिल्लाका पत्रकारहरुबाट विमोचन गराएको थियो भने चिकित्सकहरुबाट समेत नौ वटा कृति एकैसाथ विमोचन गराउनुभएको थियो। उहाँको ५५औँ कृतिका रूपमा ‘ओयामका जनप्रतिनिधिहरु’ नामक कृति प्रकाशन भएको थियो। 

समथिङले २५ वर्ष चार महिना २५ दिनमा ८२ वटा डायरीमा दैनिकी लेख्नुभएको थियो भने कोरोनाभाइरस सङ्क्रमणको सुरुआत भएपछि गत भदौ २५ गतेसम्म दैनिक अभिलेख राख्ने तथा सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए।  यी सबै कार्यका अतिरिक्त लोकबाजा संरक्षण अभियान चलाएर झनै चर्चा कमाएका थिए। समथिङको निधनमा एक समाजसेवी एवं काबिल, सिद्धहस्त र प्राज्ञिक व्यक्तित्व गुमाएको जिल्लावासीको प्रतिक्रिया छ। उनका श्रीमती र दुई छोरा छन्। उनको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी नेपाललगायत संघसंस्थाले शोक वक्तव्य जारी गर्दै समाजसेवा, लेखन तथा पत्रकारिताको क्षेत्रमा एक अनुकरणीय एवं स्रोत व्यक्तिको अवसान भएको बताएका छन्। - रविन्द्र काफ्ले 


प्रकाशित: Sep 18, 2022| 21:20 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।