काठमाडौं- घुस लिएको रकमसहित रंगेहात पक्राउ परेका 'गोल्ड मेडलिस्ट' उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले उपसचिव नेपालविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएको हो।
प्याराग्लाइडिङ सञ्चालनको अनुमति (लाइसेन्स) दिलाएबापत घुस लिँदा नेपाल रंगेहात पक्राउ परेका थिए। घुस लिएर भ्रष्टाचार गरेको अभियोगमा आयोगले आइतबार मुद्दा दायर गरेको हो।
नेपाललाई घुस दिने बिबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई पनि प्रतिवादी बनाएर आयोगले मुद्दा दर्ता गराएको हो।
नेपालविरुद्ध घुस लिएको रकम ६ लाख रुपैयाँ बराबर नै बिगो कायम गरिएको छ भने श्रेष्ठलाई मतियारका रूपमा मुद्दामा प्रतिवादी बनाइएको छ। श्रेष्ठसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नेपाल साउन १७ गते पक्राउ परेका थिए।
उक्त रकमसहित स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसमेत नेपालको गाडीमा भेटिएको थियो।
उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरका गोल्ड मेडलिस्ट हुन्। त्यसपछि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसरसमेत पाएका थिए।