काठमाडौं- सिन्धुपाल्चोक छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर खोचमा ३७ वर्षीय केशव सिवाकोटीको नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका- ३ स्थायी घर भएका सिवाकोटी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक थिए। उनी छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खसेका थिए।
उनलाई आइतबार बिहान ६:३० बजे देखेपछि स्थानीयल सुरक्षा निकायलाई खबर गरेका थिए। उक्त खबर प्राप्त भएपछि उनको उद्दारका लागि नेपाली सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिम खटिएको थियो।
नेपाली सेनाको अगस्ता एनए-०५८ कलसाइनको हेलिकप्टरमार्फत घटनास्थलमा गई सकुशल उद्धार गरी सोही हेलिकोप्टरमार्फत आइतबार दिउँसो काठमाडौं ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाल निजको अवस्था सामान्य रहेको समेत जानकारी सेनाले जनाएको छ।