काठमाडौं– उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।
जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू नभत्काउन अदालतको आदेश छ।
‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू–नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ आदेशमा भनिएको छ।
यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ। अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो।
निवेदकहरूले काठमाडौं महानगरपालिका–७ को कित्ता नम्बर ३०३८ र ३०३९ को १० आना बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको साथै कित्ता नम्बर ७ को ९ आना बढी जग्गामा भएको घर समेत २०६८ सालमा किनेर भोग चलन गर्दै आएको देखिएको अदालतले जनाएको छ।
प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए। आफूहरूले किनेर भोगचलन गर्दै आएको जग्गामा बनेका घर महानगरले कानुनी प्रकृया नपुर्याइ, क्षतिपूर्ति नदिइ हटाउन लागेको रिट निवेदनमा उल्लेख छ।