काठमाडौं– विगत ७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो।
विभिन्न ७ बुँदे माग राख्दै केसी यतिबेला धनगढीमा अनसनरत छन्। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि हाल सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। केसीको स्वास्थ्यमा समस्या आएपछि उनको माग सम्बोधनका लागि सरकारले शुक्रबार वार्ता टोली गठन गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संंघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन भएको हो।
वार्ता टोली गठन गरेसँगै सरकारले डा. केसीलाई अनसन तोड्न आग्रह गरे पनि केसीले अनसन तोडेका छैनन्। उनले स्वास्थ्य सेवामा सुधारदेखि जलवायु परिवर्तनको मार कम गर्नुपर्नेसम्मका माग राखेका छन्।
केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अस्तपालले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको शरीरमा पानीको मात्रा कम भई जटिलता बढ्दै गएको छ। अस्पतालका अनुसार केसीलाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने, मुटुको धड्कनमा गडबडी, रक्तचाप कम हुने, तौल कम हुने आदि समस्या देखिएको छ।