काठमाडौं– १७ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। आरोप लागेर अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पनि सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसकेको छ। अदालतले २३ भदौमा उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पक्राउ पुर्जी जारी हुँदासम्म प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) सम्पर्कमा रहेका र नेपाल फर्केर अनुसन्धानमा सघाउने बताएका लामिछाने केही दिनदेखि भने सम्पर्कमा नरहेको प्रहरीले बताएको छ।
लामिछाने सम्पर्कबाहिर गएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको हो। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ। आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरिसकेको छ। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी २० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।
लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको हो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।
उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका छन्। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका छन्। आफू केही दिनमै नेपाल फर्किने बताएका थिए उनले।