काठमाडौं– नयाँ करेन्ट साप्ताहिकका सम्पादक तथा अग्रज पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको उमेरमा निधन भएको छ। आज आइतबार बिहान बी एण्ड बी अस्पतालमा उनको निधन भएको हो।
उनलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। गौतमलाई न्युमोनिया देखिएपछि सघन उपचार कक्षमा राखिएको थियो। स्वास्थ्य अवस्था झन् बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो।
पत्रकार गौतमलाई पहिले कोभिड संक्रमण भएको थियो, पछि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो। प्रखर पत्रकारका रुपमा परिचित गौतम पाँच दशक निरन्तर पत्रकारितामा थिए। पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनीबाट सम्पादन र प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो।
२०४२ सालको बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई ६ महिना हनुमानढोकामा थुनिएको थियो। छोरा किरण गौतमका अनुसार पत्रकार गौतमको अन्त्येष्टि आज बिहान बिहान पशुपति आर्यघाटमा गरिने छ।