काठमाडौं- सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज आइतबार अदालत फर्कने भएका छन्। बिहान ११ बजे उनी सर्वोच्च प्रवेश गर्ने बुझिएको छ।
निलम्बित राणा सर्वोच्च अदालत फर्किए रोक्न नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसियनले तयारी अघि बढाएको छ। राणा फर्कने सूचना पाएसँगै बार एसोसिएसनले उनलाई गेटमै रोक्ने तयारी थालेको हो। जबरा फर्किने जानकारी पाएको बारले जबरालाई रोक्ने रणनीति बनाउन आकस्मिक बैठक बोलाएको छ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले राणाको निलम्बन फुकुवा भइनसकेकाले राणा सर्वोच्च छिर्न नमिल्ने बताएका छन्। 'महाभियोग प्रक्रिया टुंगिएको छैन। प्रशासनलाई आफू आउने जानकारी उहाँले फोनमार्फत गराएको खबर पाएका छौं, प्रशासनले सर्वोच्च छिर्न दिन मिल्दैन। उहाँको निलम्बन फुकुवा भइसकेको छैन। हामी सर्वोच्चको गेटमै रोक्छौं,' उनले भने।
सर्वोच्च अदा लत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुग्ने तयारी गरेपछि सुरक्षाकर्मी परिचालन गरिएको हो।
शनिबार अबेर राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै गर्दा जबराले भने आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाएका थिए। आइतबारदेखि नियमित काममा फर्कन थालेकाले आवश्यक तयारी गर्न भन्दै उनले कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिएपछि सर्वोच्च प्रशासन, न्यायाधीशहरू र बारका पदाधिकारीको आ–आफ्नो समूहमा तीव्र छलफल भएको थियो। संसदीय छानबिन समितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको सुरक्षा गर्न सरकारले पनि भूमिका खेल्नुपर्ने निष्कर्ष छलफलले निकालेको थियो।
न्यायिक विचलन र भ्रष्टाचारको आरोप लगाउँदै ९८ सांसदले गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि जबरा निलम्बित भएका थिए। प्रतिनिधिसभाले ढिलो गरी गठन गरेको महाभियोग सिफारिस समितिले उनीसँग बयान लिएर तथा सरोकारवाला कानुन व्यवसायीहरूसँग पनि छलफल गरेर शनिबार प्रतिवेदनलाई अन्तिम रूप दिएको हो।
यस्तै, संघीय संसद् सचिवालयले जबराको निलम्बनबारे गत फागुन १ गते एक पत्र पठाउँदै जबरालाई महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म उनले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराएको थियो। जबराविरुद्धको महाभियोगको कारबाही टुंगो लागिसकेको छैन।