काठमाडौं- देशभरको मौसममा सामान्य बदली रहेको छ। जसको प्रभावले सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्र तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।