शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीको प्रतिरक्षा गर्दै पूर्वलडाकुले भने-‘डलरवादी’लाई कारवाही गर्छौं

गृहमन्त्रीको प्रतिरक्षा गर्दै पूर्वलडाकुले भने-‘डलरवादी’लाई कारवाही गर्छौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनको सचिवालयको स्वेच्छाचारी कार्यशैलीप्रति आलोचना भइरहेका बेला माओवादीका पूर्वलडाकुहरू प्रतिरक्षामा उत्रेका छन् ।

गृहमन्त्रीको आलोचनाविरुद्ध प्रतिकार गर्ने चेतावनी उनीहरूले दिएका छन् । माओवादीकै पूर्वअयोग्य लडाकु लेनिन बिष्टलाई थाइल्यान्ड जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएपछि गृहमन्त्रीको सर्वाधिक आलोचना भइरहेको छ । बिष्टकै पूर्वसहकर्मीहरूको एक टोलीले भने आफूहरूको आग्रहमा उनलाई फर्काइएको दाबी गरेको छ ।

‘बहिर्गमित जनमुक्ति सेना नेपाल’ले आइतबार पत्रकार सम्मेलनमार्फत् बिष्टलाई आफ्नो आग्रहमा विमानस्थलबाट फर्काइएको बताएको हो ।

उमेरलगायत कारण जनाउँदै तत्कालीन माओवादी लडाकुका शिविरबाट बाहिर निकालिएका पूर्वछापामारहरूको एउटा समूहको नेतृत्व बिष्टले गर्दै आएका छन् । आफूहरूलाई बाल सैनिकका रूपमा माओवादीले प्रयोग गरेको बताउँदै उनी नेतृत्वको समूहले तत्कालीन माओवादी नेताहरूको आलोचना गर्दै आएको छ ।

बिष्ट थाइल्यान्डमा आयोजित द्वन्द्व क्षेत्रका युवाको पाँचदिने कार्यशाला गोष्ठीमा भाग लिन जाँदै गर्दा ८ भदौमा विमानस्थलबाट फर्काइएका थिए । बिष्टले कार्यक्रममा वृत्तचित्र प्रदर्शन गर्ने थाहा पाएपछि गृह मन्त्रालयले विमानस्थलबाटै फिर्ता गरेको स्रोतको दाबी छ ।

पछिल्लो समय गृहमन्त्री बादल आलोचनाको केन्द्रमा छन् । २७ असारमा वीर अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर भोजराज अधिकारीलाई मेडिकल सिद्धान्तविपरित सशस्त्र द्वन्द्वका क्रममा अपांगता भएको सिफारिस गर्न दबाब दिने उद्देश्यले गृहमन्त्रीको सचिवालयले मन्त्रालय पुर्‍याएर केरकार गरेको थियो । यस्तै, नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरिएको प्रकरणमा पनि गृहमन्त्री आलोचनाको केन्द्रमा छन् । 

साढे ३३ किलो सुन तस्करी प्रकरण छानविनमा पनि प्रगति शून्य भएको बताउँदै मन्त्री बादलको आलोचना हुने गरेको छ । आफू मातहतका निकायलाई कमजोर बनाएर मन्त्री बादल नै हाबी हुने गरेको आरोप पनि लाग्दै आएको छ । निरन्तरको आलोचनाबाट बच्न मन्त्री बादलले पूर्वलडाकुहरूको सहारा लिएको दाबी पनि स्रोतको छ ।

पुनः हतियार उठाउने चेतावनी

आइतबारको पत्रकार सम्मेलनमा पूर्वछापामारहरूले पुनः हतियार उठाउने चेतावनी पनि दिए । ‘लेनिन बिष्टजस्ता पात्र खडा गरी नेतृत्वको आलोचना गर्ने तथा घटनालाई अन्यत्र मोड्न खोजिएको’ बताउँदै बहिर्गमित जनमुक्ति सेना नेपालले त्यसको प्रतिकार गर्न हतियार उठाउने चेतावनी दिएको हो ।

‘केही डलरवादी विद्वान र अधिकारकर्मीले बिष्टलाई अगाडि सारेर तत्कालीन माओवादी आन्दोलन, पूर्वछापामार र नेतृत्वलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा संगठन बदनाम गराउने काम गरिरहेका छन्,’ पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष अशिम लिम्बुले भने, ‘त्यस्तालाई हामी कारवाही गर्नेछौं ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।