काठमाडौं– गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच पाँचबुँदे सहमति भएपछि लागि आन्दोलन स्थगित भएको छ। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा शनिबार मन्त्रालयमा बसेको बैठकमा पाँचबुँदे सहमति भएको हो।
सहमति भएसँगै समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको मन्त्रालयले बताएको छ। सहमतिमा मन्त्रालयका मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल संयोजकसमेत रहेका सहसचिव भीष्मकुमार भुसाल तथा संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरे।
मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ।
ऋणीले साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहू वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिस्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत हुन आउने साँवा ब्याज पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि भए उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि जग्गा फिर्ता गर्न समन्वय गरी कानुनी व्यवस्था गरिनेछ।
संघर्ष समितिले राखेका मागबारे कार्यदलको प्रतिवेदनमा उल्लिखित सिफारिस कार्यान्वयनका लागि अन्तर निकाय समन्वय गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति भएको छ।