बुधबार, वैशाख २६, २०८१

कलाकर्मीको सांसद बन्ने हुटहुटी : को, कहाँबाट उठ्दैछन्?

कांग्रेस, एमाले र राप्रपाले केही क्षेत्रबाट कलाकारलाई उम्मेदवारका रूपमा सिफारिस गरेका छन् भने केही क्षेत्रमा कलाकर्मीहरू ‘हेभिवेट’ उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्।
 |  शनिबार, असोज १, २०७९

राज सरगम

राज सरगम

शनिबार, असोज १, २०७९

काठमाडौं- स्वतन्त्र उम्मदेवारमा कति शक्ति हुन्छ भन्ने उदाहारण बनेका र्‍यापर बालेन्द्र साहपछि केही कलाकर्मीहरू स्वतन्त्र पार्टीगत राजनीतिमा अग्रसर देखिएका छन्। कुनै समय कलाक्षेत्रमा लागेका सर्जकहरूको काम विभिन्न राजनीतिक दलका आमसभामा नाच्ने, गाउने र दर्शकलाई रिझाउने मात्रै हुन्थ्यो। 

triton college

अब भने उनीहरू सांसद बन्ने मोहमा लागेका छन्। कांग्रेस, एमाले र राप्रपाले केही क्षेत्रबाट कलाकारलाई उम्मेदवारका रूपमा सिफारिस गरेका छन् भने केही क्षेत्रमा कलाकर्मीहरू ‘हेभिवेट’ उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छन्। 

सांसद बन्ने मोह लिएर पार्टीगत सिफारिस भएका र स्वतन्त्र उम्मेदवार घोषणा गरेका कलाकर्मी को, कहाँबाट उठ्दैछन्?  

मनोज पण्डित, चलचित्र निर्देशक 


corrent noodles
Metro Mart

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का गाउँघरमा स्कुटी चलाउँदै स्थानीयसँग गफिएका भेटिन्छन्, चलचित्र निर्देशक मनोज पण्डित। उनको यो यात्रा चलचित्र लोकेसन हेर्न भने होइन। यो यात्रा ४ मंसिरको संसदीय चुनाव लक्षित रहेको छ।

निर्देशक पण्डित यतिखेर न कुनै पार्टीको झन्डा बोकेर हिँडेका छन्, न त कुनै समूहमा नै देखिन्छन्। एक्लै देखिन्छन् किनकि उनी स्वतन्त्र उम्मदेवार हुन्। ‘म त्यस्तो व्यवस्था चाहन्छु, जहाँ व्यक्ति बलियो होस्, सरकार अदृश्य र प्रकृतिजस्तै होस्’, उनले भने। 

दासढुंगा’, वधशाला, द ग्रेटर नेपालजस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चा बटुलेका पण्डितले चलचित्रबाट पनि विद्रोह गरेका छन्।  ‘म काभ्रे–२ बाट यो मिसनमा छु, तपाई?’ सामाजिक सञ्जालमा लेख्दै आएका पण्डितले संघीय संसद्को चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनी स्थानीय निर्वाचनकै बेलादेखि घरदैलो अभियानमा निस्किइसकेका थिए। बाँस्कोटाको ७० करोड भ्रष्टाचार गरेको आरोपलाई उनले आगामी चुनावको मुख्य एजेन्डा बनाएका छन्।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटालाई ७० करोड भ्रष्टाचारको आरोप लागेको थियो। त्यसपछि पदबाट राजीनामा दिएका उनले सार्वजनिक कार्यक्रममा हाकाहाकी भनेका थिए, ‘७० करोड मात्रै हो र? ७० अर्ब हान्देको, निजी खाइदिएको हो र?’ भन्ने अभिव्यक्ति दिएपछि पण्डित स्वतन्त्र उम्मेदवारी दिने टुंगोमा पुगेका थिए।

काभ्रे क्षेत्र–२ एमालेको प्रभाव क्षेत्र मानिन्छ। २०६४ मा माओवादीको दबदबा रहेको अवस्थामा समेत एमाले उम्मेदवार कृष्णप्रसाद सापकोटाले जितेका थिए। २०७० मा समेत तत्कालीन क्षेत्र–४ बाट (हाल क्षेत्र–२) का एमाले उम्मेदवार विदुर सापकोटाले निर्वाचन जितेका थिए। २०७४ को निर्वाचनमा बाँस्कोटा सोही क्षेत्रबाट माननीय बनेका थिए। सोही कारण क्षेत्र–२ लाई एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो।

तर अहिले परिस्थिति बदलिएको छ। बाँस्कोटाका सारथि बनेका कृष्णप्रसाद र विदुर सापकोटा दुवै एमालेमा छैनन्। नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन्। यसले पनि बाँस्कोटालाई असर पर्ने देखिन्छ ।

२०७४ को निर्वाचन फर्किएर हेर्ने हो भने बाँस्कोटाले ठूलो मतान्तरसहित निर्वाचित भएका सांसद हुन्। सो क्रममा वाम गठबन्धनबाट उम्मेदवार बनेका बाँस्कोटाले ५४ हजार ४ सय २७ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मुधप्रसाद आचार्यले जम्मा ३६ हजार ५७९ मत प्राप्त गरेका थिए। बाँस्कोटा र आचार्यबीचको मतान्तर १७ हजार ४४८ देखिन्छ।

पण्डित भन्छन्, ‘मलाई थाहा छ, मैले दुई चारभन्दा बढी भोट ल्याउँदिनँ तर एउटा भ्रष्टाचारीले खुलेर जनतालाई धम्की दिन्छ भने फिल्ममेकरको रूपमा कसरी मौन रहन सक्छु?’

चुनाव हार्ने निश्चित भए पनि आफ्नो उम्मेदवारी अर्थपूर्ण भएको पण्डितको तर्क छ। 

कुमार कट्टेल ‘जिग्री ब्रो’, हास्यकलाकार


झापा–५ बाट कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। हास्य क्षेत्रमा गतिलो छवि बनाउँदै समाजसेवी तथा युवा अभियन्ता बनेका जिग्रीले स्वतन्त्र उम्मेदवारी दिएर एमाले अध्यक्ष केपी ओलीलाई हराउने सपना पालेका छन्। पूर्वप्रधानमन्त्री ओलीको चुनावी क्षेत्र पनि यही हो। 

राजनीतिक करियरदेखि नै निरन्तर पकड रहेको ओलीको क्षेत्रमा एउटा कलाकारले दिने स्वतन्त्र उम्मेदवारीले खासै अर्थ राख्दैन। एमालेले भावी प्रधानमन्त्रीको रूपमा समेत अघि सारेका ओली सातौं पटक झापा–५ बाट उठ्दै छन्। 

सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्व गरेका स्वतन्त्र उम्मेदवारको लौरो अभियानअन्तर्गत धुर्मुसले नै उम्मदेवारी दिन सक्थे। तर उनले भाइ कुमारलाई सघाउन जुटे। 

२०४८ को संसदीय निर्वाचनमा पहिलो पटक कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गर्दै संसद् पुगेका थिए, ओली । दोस्रो पटक २०५१ को संसदीय निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए। तेस्रो पटक २०५६ को संसदीय निर्वाचनमा ओलीले कांग्रेसकै काशीलाल ताजपुरियालाई पराजित गरेका थिए।

चौथो पटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ओली पहिलो पटक नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित हुनुपरेको थियो। ओली पाँचौं पटक २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका सुरेशकुमार योङगयालाई पराजित गरेर निर्वाचित भए। छैंटौं पटक २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका थिए। सातौं पटक २०७४ मा एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेको थियो। आगामी ४ मंसिरमा हुने निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गर्नेबारे अहिले दुवै पार्टीबीच छलफल जारी रहेको बताइएको छ।

रेखा थापा, अभिनेत्री तथा निर्माता 


कुनै बेला नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक रहेर राजनीतिक यात्रा तय गरेकी थिइन्, अभिनेत्री रेखा थापाले। अभिनय यात्रालाई विस्तारै कम गर्दै राजनीति यात्रालाई निरन्तरता दिन थालेकी थापा हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य हुन्। मोरङ सुन्दरहरैचा– १२ सलकपुरकी स्थायी बासिन्दासमेत रहेकी थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेकी छन्। उनलाई पार्टीले पनि सिफारिसमा पारेको छ। 

महिला मुद्दालाई केन्द्रमा राखेर चलचित्र निर्माण गर्नु र सामाजिक सञ्जालमा निरन्तर महिला हिंसाविरुद्ध बोल्दै आएकी थापाले १४ भदौमा आफैं मोरङ क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी घोषणा गरेकी थिइन्। 

थापालाई पार्टीको स्थानीय समितिले प्रतिनिधिसभा उम्मेदवारमा यसअघि नै उम्मेदवारमा सिफारिस गरिसकेको छ। ‘महिला नेताहरू प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ र जित्नुपर्छ भन्ने विश्वासका साथ निर्वाचन लड्न तयार भएकी हुँ’, उनले भनिन्, ‘पार्टी र स्थानीय जनताले नै निर्वाचनमा उठ्न आग्रह गरेकाले उम्मेदवारी घोषणा गरेकी हुँ।’

यहाँबाट थापासँगै अम्बिकाप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ। २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा मोरङ–३ बाट एमाले नेता भानुभक्त ढकालले जितेका थिए। ढकालसँग कांग्रेस उम्मेदवार सुनील शर्मा थोरै मतान्तरले पराजित भएका थिए। यस पटक पनि ढकाल र शर्माको नजर यही क्षेत्रमा छ।

रेखाको नजर काठमाडौंमा पनि छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्रसमेत रहेको काठमाडौं क्षेत्र नम्बर २ मा पनि खास नजर रहेको छ। 

पछिल्लो पटक राप्रपा प्रवेश गरेकी थापा महाधिवेशनमा महामन्त्रीमा लडेकी थापा तर नेतृ कुन्ती शाहीसँग पराजित भएकी थिइन्। 

मीन भाम, चलचित्र निर्देशक 


चलचित्र निर्देशक मीन भाम प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट कांग्रेसबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका छन्। उनी पिछडिएको खस आर्यबाट सिफारिस भएका हुन्। मुगुको छायानाथ–रारा नगरपालिका–४ का भामको राजनीतिक यात्रा पचासको दशकबाट सुरु भएको थियो । 

विद्यार्थी जीवनबाट स्थानीय राजनीतिमा लागेका  भाम २०५० देखि २०५३ सम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका थिए । २०५४ देखि २०५६ सम्म नेविसंघको जिल्ला महासचिव बनेका थिए। भाम २०७७/७८ मा कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य बनेका थिए। भाम भन्छन्, ‘मेरो मूल पेसा सिनेमा हो। कलाले बुझाउन नसकेको कुरा राजनीतिले बुझाउने कोसिस गर्छु। राजनीतिले नचिनेको विषयलाई सिनेमाले चिनाउने कोसिस गर्नेछु।’

सफल चलचित्र निर्देशकको छवि बनाएका भाम राजनीतिमा सफल हुन सक्नुहुन्छ भन्ने प्रश्नमा यसरी सुनिए, ‘राजनीति भनेको एउटा मान्छेले गर्ने होइन। मेरो आवाज सिनेमाबाटै भन्न पाइरहेको छ। समाजको आवाजलाई राजनीतिमार्फत भन्नुपर्ने अवस्था भएकाले राजनीतिमा देखिएको हुँ। सिंगो पार्टीले सहयोग गरे समाजसेवामा पनि खटिनेछु ।’

सिनेमा र राजनीति सँगै लिएर हिँड्न खोजेका भामका लागि राजनीतिमा समाज सेवा गर्ने उद्देश्यले हाम फालेको बताउँछन्। 

चिसो वर्ष फिल्म निर्माणको तयारीमा रहेका भाम कालो पोथीका कारण चर्चित छन्। कालोपोथीले भेनिस फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो। 

मधुसूदन पाठक ‘सीते बा’, हास्य कलाकार


हास्य क्षेत्रमा स्थापित मधुसूदन पाठक ‘सीते बा’ ले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिँदै छन्। उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। 

कलाकार, सहकारीकर्मी, सामाजिक अभियन्ता, युवा उद्यमी,  व्यवसायी सीते बाको अभिनय यात्रा भने सक्किगोनिबाट सुरु भएको थियो। सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणापछि उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन्। यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो। एमालेले प्रतिनिधिसभा उम्मेदवारका लागि उनलाई सिफारिस गरेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका थिए। सोही क्षेत्रबाट कांग्रेस नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्व. उज्ज्वल थापालगायत उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए। सीते बाले यो क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता साझेदार नेकपा एसको भ्रातृ संगठन अनेरास्वियु अध्यक्ष सुदेश पराजुली, सामाजिक अभियन्ता हेमराज थापा, रञ्जु दर्शना र युवा उद्यमी विजय कँडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

करण श्रेष्ठ, कलाकार तथा निर्माता 


चलचित्र निर्माता, अभिनेता तथा चलचित्र वितरक करण श्रेष्ठलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १(ख)बाट प्रत्यक्षमा सिफारिस गरेको छ। उनले भने, ‘म पेसागत रूपमा फिल्मकर्मी भए पनि पहिलादेखि नै राजनीतिमा सक्रिय थिएँ। पछिल्लो समय चुनाव नजिकिएसँगै पार्टीका लागि जिम्मेवारी बढेको महसुस भइरहेको छ। फिल्म क्षेत्र र राजनीति दुवैमा निरन्तर रहनेछु।’

पार्टीको बागमती प्रदेश अध्यक्षसमेत रहेका उनी यसअघि उपाध्यक्ष थिए। उनले ओम, जन्जीरजस्ता चलचित्र निर्माण गरेका थिए भने जवाफ, सम्झिदिए पुग्छ, म छु नि तिम्रो, ह्याप्पी न्यू इअमरलगायत फिल्ममा अभिनय गरेका छन्। 

सञ्जय श्रेष्ठ, गायक 


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पपगायक सञ्जय श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा उठाउने तयारी गरेको छ।

पहिले नै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठ अहिले चुनावी प्रचारमा लागेका छन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले पराजय बेहोरेका थिए।

सकभर पार्टीको टिकट लिएर नत्र स्वतन्त्र भए पनि चुनाव लड्ने उनले बताए। श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टीले टिकट दिए पनि, नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरें। अब बाँकी तपाईंहरूको साथ र विश्वास।’

‘काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा चुनाव लड्छु भन्ने उद्घोष मैले २ महिनाअघि नै गरेको हुँ। जुनसुकै परिस्थिति आए पनि त्यसबाट विचलित हुने छैन’, उनले भने। गायक श्रेष्ठले २०७० को दोस्रो संविधानसभा चुनावमा राप्रपा नेपालका तर्फबाट काठमाडौं–६ मै प्रतिस्पर्धा गरे पनि उल्लेख्य मत ल्याउन सकेनन्। त्यसपछि राजनीतिमा निस्क्रिय बनेका उनी गत वर्षको मंसिरमा राप्रपा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएका थिए।

करिष्मा मानन्धर, अभिनेत्री 


सदावहार अभिनेत्रीको राजनीतिक करियर सुरक्षित देखिएको छ। नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनीत भइसकेकी छन्। तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील अभिनेत्री मानन्धर गत चैतमा एमाले प्रवेश गरेकी थिइन्। 

प्रतिनिधिसभा सदस्य चुनाव नजिकिएसँगै एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो। विभागका प्रमुख रघुजी पन्तले भने, ‘करिष्माजी साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनीत हुनु भनेको उहाँप्रतिको विश्वास पनि हो। उहाँले काम गर्न पनि सक्नुहुन्छ।’

अध्यक्ष ओलीले दसौं महाधिवेशनपछि एमालेको विभागीय सदस्य मनोनीत आफैंले गर्दै आएका छन्। करिष्माले भनिन्, ‘पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्नेछु। पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरा लागि  अवसर पनि हो।’ 

अभिनेत्री करिश्मा मानन्धरले चुनाव उठ्ने मनसाय व्यक्त गरेकी छन्। उनी यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा आबद्ध थिइन्। धेरै पटक एमाले अध्यक्ष ओली भेटेकी मानन्धरले पार्टीले उम्मेदवारी बनाए आफू चुनावमा लड्ने घोषणा गरेकी छन्।  यद्यपि कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्नेबारे अझै टुंगो लागेको छैन।

शिवशंकर रिजाल ‘पानवाला’, हास्य कलाकार


हास्य कलाकार  शिवशंकर रिजाल ‘जोगिन्दर ‘पानवाला’ सर्लाहीबाट प्रदेशसभामा समानुपातिकतर्फको उम्मेदवार सिफारिस भएका छन्।

जिरे खुर्सानी, तीतो सत्य, झ्याइँकुटी झ्याइँ, सुनौलो संसारजस्ता टिभी सिरियलमा अभिनय गरेका शिवशंकर कांग्रेसबाट सर्लाही क्षेत्र ४(क)बाट प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ पहिलो नम्बरमा सिफरिसमा परेका हुन्। कलाकार रिजाल कांग्रेस निकट नेपाल सांस्कृतिक संघमा आबद्ध छन्।

दुर्गा बन्जाडे, हास्य कलाकार 


३ वर्षदेखि काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडे ‘दोकाने माइलो’ले पनि प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलमा अभिनय गर्दै आएका बन्जाडे अहिले चुनाव प्रचार–प्रसारका लागि अर्घाखाँची पुगेका छन्। उनले भने, ‘आफ्ना लागि धेरै गरियो। अब आफू जन्मिएको माटोका लागि केही गरौं भनेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ।’

अर्घाखाँचीको मालारानी गाउँपालिका–२  अर्घातोष लामपोखरा घर भएका बन्जाडे यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचार–प्रसारमा जुटेका छन्। बन्जाडे भन्छन्, ‘मेरो प्रतिस्पर्धा एमाले नेता टोपबहादुर रायमाझीसँग हो। पार्टीको झन्डा बोकेर होइन, स्वतन्त्र उम्मेदवार भएर परिवर्तन गर्छौं।’

अर्घाखाँचीको यो क्षेत्रबाट २०७४ मा तत्कालीन माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले जितेका थिए। माओवादी र नेकपा एमाले मिलेर बनेको नेकपा विभाजन भएसँगै उनी एमालेमा लागेका थिए। रायमाझीलाई माओवादीले कारबाही गरेपछि यो क्षेत्रमा उपनिर्वाचन पनि भएन। 

प्रकाशित: Sep 17, 2022| 07:54 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।