शनिबार, वैशाख ६, २०८२

महामारीकै बेला किन हुन्छ सिटामोल अभाव?

नेपालमा वार्षिक झन्डै १० करोड सिटामोल ट्याब्लेट आवश्यक पर्ने अनुमान भए पनि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले जम्मा २० देखि २५ प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, भदौ ३१, २०७९

vianetvianet

काठमाडौं– यतिबेला नेपालमा डेंगुको उच्च प्रकोप छ। डेंगुको उच्च संक्रमण देखिएका ठाउँका अस्पतालका शय्या बिरामीले भरिएका छन्। डेंगु संक्रमणले महामारीको रूप लिइरहँदा नेपाली बजारमा सिटामोल अभाव हुने समस्या फेरि दोहोरिएको छ।

triton college

यसअघि कोभिड महामारीको उच्च संक्रमणको अवस्थामा पनि सिटामोल अभाव भएको थियो। डेंगुविरुद्धको कुनै निश्चित उपचार र औषधी छैन। तर डेंगु संक्रमित बिरामीलाई ज्वरो आउँदा सिटामोल प्रयोग गर्न चिकित्सकले सुझाएका छन्।

डेंगुका कारण ज्वरो आएका धेरैजसो बिरामीलाई कम्तीमा एक सातासम्म सिटामोलको प्रयोग गर्नुपर्ने देखिएको छ। डेंगु संक्रमण बढेसँगै सिटामोलको माग उच्च भएको छ तर औषधी पसलमा पाइँदैन। 

कोरोना महामारीका कारण संक्रमण दर ह्वात्तै बढ्दा  बजारमा पटक–पटक सिटामोल अभाव भएको थियो। सरुवाजन्य रोग बढ्दा फेरि सिटामोल अभाव चुलिन थालेको छ। 

नेपालमा सरकारी मातहत रहेको नेपाल औषधी लिमिटेडले ५०० एमजीसम्मको सिटामोल उत्पादन गर्दै आएको छ भने निजी क्षेत्रबाट २९ वटा कम्पनीले पारासिटामोल उत्पादन अनुमति लिए पनि हाल २१ वटाले सिटामोल उत्पादन गर्दै आएका छन्। नेपालमा वार्षिक झन्डै १० करोड सिटामोल ट्याब्लेट आवश्यक पर्ने अनुमान छ। यसमध्ये जम्मा २० देखि २५ प्रतिशत माबै नेपाल औषधी लिमिटेडले उत्पादन गर्दै आएको छ। 

National life insurance

बजारमा सिटामोल अभाव हुन थालेपछि नेपाल औषधी लिमिटेडले नियमितभन्दा बढी मात्रामा उत्पादन बढाउने तयारी गरेको छ। कम्पनीका  सूचना अधिकारी टीकाराम अर्याल भन्छन्, बजारमा सिटामोल अभाव भएको भन्ने सुनिएको छ। अभाव भएको रहेछ भने कम्पनीले उत्पादन बढाउँछ। नियमितभन्दा बढी माग हुन थालेपछि कच्चा पदार्थ आयात गर्न थालेका छौं। तर अभाव नै भएर हाहाकार भएको छैन।’ 

कम्पनीले सामान्य अवस्थामा मासिक ५० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउँदै आएको छ। अर्यालका अनुसार अहिले बजारमा दिन सके जति पनि सिटामोल बिक्न सक्ने अवस्था देखिएको छ।  

नेपालमा वार्षिक झन्डै १० करोड सिटामोल ट्याब्लेट आवश्यक पर्ने अनुमान भए पनि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले जम्मा २० देखि २५ प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ।

औषधी उत्पादक संघका महासचिव विप्लव अधिकारी पनि बजारमा सिटामोल अभाव हुन नदिइने बताउँछन्। अधिकारी भन्छन्, ‘यतिबेला पारासिटामोलको उच्च माग छ। मानिसले सिटामोल किनेट घरघरमा राखेका छन्। अन्य सामान्य अवस्थामा मासिक ४० देखि ५० लाख पारासिटामोल ट्याब्लेट पठाउने भए पनि पछिल्लो दुई सातामा मात्रै हामीले ५० देखि ६० लाख ट्याब्लेट बजारमा पठाएका छौं।’

गत वर्ष झन्डै सात करोड सिटामोल उत्पादन गरी बजारमा पठाइएको थियो। अधिकारी भन्छन्, ‘हाल डेंगुका कारण सिटामोलको माग बढेको छ। दुई सातामै ठूलो मात्रामा सिटामोल बजार पठाइएको छ। तर यो मात्राले धान्न सक्ने अवस्था देखिएको छैन।’ 

महासचिव विप्लव अधिकारी डेंगु संक्रमण बढेकाले सिटामोलको मागअनुसार बजारमा कहीँ–कतै अभाव देखिनु स्वाभाविक भए पनि हाहाकार अवस्था नभएको दाबी गर्छन्।

अर्कोतर्फ सिटामोलको मूल्य समायोजन नहुँदा पनि पटक–पटक अभाव गराइएको केहीको तर्क छ। २०६४ देखि सिटामोलको मूल्य समायोजन हुन सकेको छैन। अधिकारी भन्छन्, ‘यही अवस्थामा सिटामोल उत्पादन गरिरहन सकिँदैन। सरकारले नबुझ्ने हो भने उत्पादनै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। अहिले पनि हामीसँग दुई महिनाका लागि मात्रै सिटामोल उत्पादन गर्ने कच्चा पदार्थ छ। अहिलेको अवस्थामा उत्पादन बढाऊ भन्न सकिने अवस्थामा छैन। किनकि, अहिले पनि हामीले घाटामा गएर सिटामोल उत्पादन गरिरहेका छौं।’

अधिकारीका अनुसार कच्चा पदार्थदेखि सिटामोल तयार गरी बजारमा  पठाउँदासम्म  एक रुपैयाँ तीस पैसा पर्छ तर सरकारले तोकेको मूल्यअनुसार हाल उत्पादकले ७४ पैसा मात्रै पाइरहेका छन्। 

अधिकारी भन्छन्, ‘हामी यो महामारीमा अभाव हुन दिँदैनौं तर अब मूल्य समायोजन नभए  थप गरेर उत्पादन गर्न सकिँदैन। सिटामोलको मूल्यवृद्धिलाई राजनितीकरण गरियो।’ 

नेपाल औषधी लिमिटेडका सूचना अधिकारी अर्याल कच्चा पदार्थ अभाव नभए पनि त्यसको मूल्य बढेकाले सिटामोल उत्पादनमा कम्पनीले  घाटा बेहोरिरहेको बताउँछन्। कम्पनीसँग दैनिक तीन लाख हाराहारी सिटामोल उत्पादन गर्ने क्षमता छ। 

सिटामोल अभाव छैन: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बजारमा सिटामोल अभाव भएको सुनिए पनि त्यसो नभएको दाबी गर्छन्। ठाकुरका अनुसार दुई दिनअघि  औषधी व्यवस्थाा विभागका महानिर्देशक भरत भट्टराईलाई मन्त्रालय बोलाएर सिटामोल अभाव वास्तविकताबारे बुझद बजारमा अभाव नभएको बताएका थिए। मन्त्रालयमा भएको कुराकानीमा विभागका महानिर्देशक भट्टराईले बजारमा सिटामोलका नाम विभिन्न प्रकारका छन् तर मानिसले सिटामोल नै नाम लेखिएको औषधी खोजेकाले अभाव देखिएको सुनाएका थिए। 

बजारमा सिटामोल अभाव नभएको औषधि व्यवस्थाा विभागले बताइरहँदा सञ्चारमाध्यममा  भने अभाव भएको भनेर समाचार आइरहँदा त्यसबारे थप बुझ्न स्वास्थ्यमन्त्रीले विभागका महानिर्देशकलाई छलफलका लागि बोलाउने तयारी गरेका छन्। यदि बजारमा साँच्चै अभाव हो कि कृत्रिम अभाव सिर्जना गराइएको हो भन्ने विषयमा अनुगमन गर्ने र साँच्चै अभाव रहेछ भने मन्त्रीस्तरीय बैठकले आवश्यक कदम चाल्ने तयारी रहेको प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए। 

विभागका महानिर्देशक भट्टराईले पनि बजारका केही ठाउँमा एक्कासि माग बढेकाले अभाव भएजस्तो देखिएको बताए। उनले एक्कासि बढेको मागलाई सम्बोधन गर्न लागिएको जानकारी दिए। जबसम्म सरकारले वास्तविक समस्यामा ध्यान दिँदैन, तबसम्म सिटामोलको माग बढ्दा अभाव खड्किइरहने सरोकारवाला बताउँछन्।

प्रकाशित: Sep 16, 2022| 17:04 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्