काठमाडौं- निर्वाचन आयोगले भूमिहीनका नाममा लालपुर्जा वितरण काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ। आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्मका लागि उक्त कार्य बन्द गर्न आयोगलाई निर्देशन दिएको हो।
'आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ,' आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस्तै आयोगले तीनै तहका सरकारलाई वैदेशिक भ्रमणमा कुनै पनि व्यक्ति नपठाउन पनि निर्देशन दिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरिएको छ।