काठमाडौं- पछिल्लो समय संघीय राजधानी काठमाडौंमा डेंगु संक्रमितहरुको संख्या बढ्दै गएको छ। डेंगु संक्रमणको रोकथामका लागि विभिन्न टोल-टोलमा विभिन्न समूह, क्लब तथा पार्टीहरुको सक्रियतामा सरसफाई गर्ने, फगिङ गर्नेलगायतका कामहरु भइरहेका छन्।
संक्रमणको अवस्था बढ्दै जाँदा काठमाडौं महानगरले संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले संक्रमण भएको अथवा संक्रमणको आशंका भएको विषयमा परामर्श गर्नका लागि ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श पाउन सक्ने सुविधा सुरु गरिएको हो।
उनले सामाजिक सञ्जालमार्फत १०२ मा कल गरेर महानगरको नि:शुल्क एम्बुलेन्स सेवा लिन सक्नेसमेत जानकारी गराएका छन्। डेंगुविरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि उनले अपिल गरेका छन्।
उनले भनेका छन्, 'डेंगु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो। यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ। भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ।'
हालसम्म देशभर डेंगु संक्रमितहरुको संख्या १२ हजारभन्दा बढी छ भने ११ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ।