काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले अँगालो हालेको तर तर उनले भने आफूमाथि ग्वाम्म छुरी रोपेको भन्दै आलोचना गरेका छन्। माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई एमालेमा प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेकोसमेत उल्लेख गरेका थिए।
'मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ। मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन,' प्रचण्डप्रति टिप्पणी गर्दै ओलीले भने, 'प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ। नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे। म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने।'
२०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो। तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव समूहमा विभाजित भयो। ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए।
२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा नेकपाको एकता नै खारेज गरिदियो। यससँगै एमाले र माओवादी केन्द्र व्यूँतिएका थिए।