काठमाडौं– गत असारदेखि फैलन सुरु गरेको डेंगुले नेपालमा महामारीको रूप लिइसकेको छ। टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ९ जनाको डेंगुका कारण मृत्यु भएको छ भने ११ हजार बढी डेंगु पुष्टि भएको छ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार बढी डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ। बुधबारसम्म ११ हजार ६५ जनामा डेंगु पुष्टि भएकामा सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार ३९० जनामा पुष्टि भएको छ।
त्यस्तै, लुम्बिनीमा १ हजार ४२१, प्रदेश १ मा ३४७, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेस प्रदेशमा १९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु देखिएको छ।
महाशाखाको तथ्यांकअनुसार हाल १० जिल्लामा डेंगु संक्रमण बढी देखिएको छ। यिनमा ललितपुर, काठमाडांै, मकवानपुर, दाङ, भक्तपुर,रुपन्देही, चितवन, धादिङ, काभ्रे र तेह्रथुम रहेका छन्।
सरकारी पहल फितलो
डेंगुले महामारीको रूप लिइरहँदा विज्ञहरूले नियन्त्रणका लागि सरकारको तयारी फितलो भएको बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी डेंगु नियन्त्रणका लागि सरकारले झारा टराइको काम गरेको बताउँछन्।
डा. मरासिनी भन्छन्, ‘सरकारले हरेक वर्ष डेंगु नियन्त्रणका लागि बजेट छुट्याउँदै आएको छ। तर डेंगु संक्रमण नियन्त्रणबाहिर जान्छ। यसको कारण के भने सरकाले व्यवस्थित रूपमा काम गर्न नसक्नु नै हो। डेंगु संक्रमण सुरु भएपछि मात्रै नियन्त्रणका लागि काम थाल्नु पनि उपयुक्त होइन। सडक विभाग, नगरपालिका, स्थानीय तहले डेंगु फैलनका लागि सहज वातावरण बनाइदिएका छन्।’
डेंगु संक्रमणले महामारीको रूप लिइसके पनि सरकार लामखुट्टे खोज र नष्ट गर अभियानमा मात्रै अल्झिएपछि नियन्त्रणमा ल्याउन अझ बढी पहल हुनुपर्ने स्वास्थ्यविज्ञहरूको सुझाव छ।
सडकमा पानी जम्ने खाल्डाखुल्डी, यत्रतत्र फालिएका गाडीका टायर, पानी जम्ने प्रशस्त ठाउँ छन्। यसले गर्दा लामखुट्टेले त्यहाँ फुल पार्न सहज भएको छ। नगरपालिकाहरूले पनि डेंगु नियन्त्रणका लागि झारा टार्ने काम गरिरहेको उनको बुझाइ छ। स्वास्थ्यकर्मी मात्रै बोलेर डेंगु नियन्त्रणमा केही हुँदैन। यसका लागि गम्भीर रूपले काम गर्नुपर्ने सुझाव उनले दिए।
मरासिनीका अनुसार डेंगु नियन्त्रणका लागि मुख्य काम भनेको खोज र नष्ट अभियान नै हो। यसलाई प्रभावकारी बनाउनुपर्छ। ‘डेंगु पोस्ट मनसुन डिजिज हो। यो अझै एक÷डेढ महिना बढ्न सक्छ। अहिले बागमती प्रदेशमा बढी देखिएको छ तर अबका केही दिनमा तराईका जिल्लामा भयावह हुन्छ’, डा. मरासिनीले भने।
उनका अनुसार डेंगु नियन्त्रणका लागि संक्रमण तीव्र गतिमा फैलिरहेका स्थानीय तहमा स्थानीय सरकारले गर्नुपर्ने सामुदायिक कार्यक्रम नगर्दा पनि संक्रमण फैलिरहेको छ। डेंगु फैलने कारण नै लामखुट्टेको टोकाइ भएकाले लामखुट्टे उत्पत्ति हुने स्थानमा सरसफाइ गर्ने, भएका लामखुट्टे खोजेर नष्ट गर्न सकियो भने डेंगु नियन्त्रण गर्न सकिन्छ।
डेंगु नियन्त्रणका लागि बर्सेनि छुट्याइन्छ बजेट तर नतिजा प्रभावकारी छैन
डेंगु नियन्त्रणका लागि सरकारले वार्षिक रूपमा करोडौं रकम खर्चिंदै आएको छ। नेपालमा सन् २००४ देखि सुरु भएको डेंगु त्यसयता हरेक वर्ष देखिँदै आएको छ। सन् २०१९ मा पनि प्रकोपकै रूपमा देखिएको थियो।
हाल नेपालमा ७५ जिल्लामा डेंगु पुष्टि भएको छ। विगत १८ वर्षदेखि सरकारले डेंगु नियन्त्रणका लागि बजेट छुट्याउँदै आएको छ। बजेट छुट्याए पनि पनि डेंगु नियन्त्रणमा खासै सफलता पाउन सकेको छैन।
सरकारले प्रत्येक वर्ष लामखुट्टेको लार्भा खोजी गरेर मार्नकै लागि रकम विनियोजन गर्दै आएको छ। तर पछिल्ला वर्ष डेंगु नियन्त्रणबाहिर जान थालेको छ। सन् २०१९ मा पनि झन्डै १८ हजार मानिसमा डेंगु संक्रमण भएको थियो भने त्यतिबेला ६ जनाको मृत्यु भएको थियो।
यस वर्ष पनि सरकारले डेंगु नियन्त्रणका लागि जनचेतना फैलाउने, लार्भा खोज र नष्ट अभियान सञ्चालनलगायतका लागि ६३ जिल्लामा झन्डै ३ करोड रुपैयाँ विनियोजन गरेको छ। महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार ६३ जिल्लाका १३९ स्थानीय तहमा २ करोड र ७० लाख संघ र प्रदेशका लागि बर्सेनि बजेट छुट्याइने गरेको छ। तर यो बजेट पर्याप्त नभएको स्वयंं सरकारले नै स्वीकारेको छ।
डेंगु नियन्त्रणका लागि सरकारले वार्षिक रूपमा करोडौं रकम खर्चिंदै आएको छ। नेपालमा सन् २००४ देखि सुरु भएको डेंगु त्यसयता हरेक वर्ष देखिँदै आएको छ। सन् २०१९ मा पनि प्रकोपकै रूपमा देखिएको थियो।
प्याकुरेल भन्छन्, ‘डेंगु नियन्त्रणका लागि बजेट छुट्याए पनि हरेक वर्ष नियन्त्रणबाहिर गएको हुँदैन। कहिले डेंगु फैलन्छ भन्ने सहजै अनुमान गर्न सकिएको हुँदैन। जोखिम हेरेर मात्रै बजेट छुट्याइन्छ। तर डेंगु संक्रमणको फैलने प्रकृति बेग्लाबेग्लै हुन्छ। अहिले व्यापक रूपमा फैलिएको संक्रमण अर्को वर्ष त्यहाँ नदेखिन सक्छ। त्यसैले संक्रमण नियन्त्रणका लागि कार्यक्रम बनाउन सहज हुँदैन।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगु नियन्त्रणका लागि व्यवस्थित तरिकाले काम गर्नुपर्ने बताउँछन्। डा. पुन भन्छन्, ‘हाल अस्पतालमा आएका मानिसको आकलन गर्दा काठमाडौं उपत्यकामा घरैपिच्छे डेंगुका बिरामी छन्।’
लामखुट्टेले आफ्नो आनीबानी परिवर्तन गर्दा नियन्त्रणका लागि चुनौती थपिएको डा. पुन बताउँछन्। अहिलेको डेंगु संक्रमण गत वर्षमा देखिने समयअगाडि नै देखिएकाले अझै फैलने पुनको अनुमान छ। सरकार डेंगु संक्रमण गराउने लामखुट्टे खोज र नष्ट गर अभियानमा मात्रै अल्झिएको उनी बताउँछन्। यसमा रणनीतिक हिसाबले काम गर्नुपर्ने डा. पुनको भनाइ छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार हाल सरकारले डेंगु संक्रमण गराउने लामखुट्टे खोज्ने र नष्ट गर्ने काम गरिरहेको छ। सरकारले तीन वटै तहका सरकारसँग समन्वय गरेर, समुदाय स्तरमा खोज र नष्टको अभियान तीव्र गतिमा अगाडि बढाएको छ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौं र नष्ट गरौं’ नारासहित राष्ट्रिय अभियान सञ्चालन गरिने जनाएको छ। अहिले तीव्र गतिमा फैलिएको डेंगु संक्रमण अझ केही समय बढ्ने भएकाले सतर्क रहन विज्ञहरूको सुझाव छ।