शनिबार, फागुन ३०, २०८२

अझै दुई साता डेंगुको उच्च जोखिम

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा डेंगु फैलिएको छ। ७५ जिल्लामा १२ हजार २ सय १७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशैभर डेंगु संक्रमण तीव्र बन्दै गएको छ। देशभर डेंगुका सक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ। बागमती प्रदेशमा मात्रै नौ हजार तीन सय चार संक्रमित छन्। 

National life

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा डेंगु फैलिएको छ। ७५ जिल्लामा १२ हजार २ सय १७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यका र तराईका जिल्लाहरूमा डेंगु संक्रमण बढी पाइएको छ। काठमाडौं उपत्यकाको ललितपुरमा सबैभन्दा बढी संक्रमित रहेका छन्। ललितपुरमा तीन हजार आठ सय तीन र काठमाडौंमा दुई हजार आठ सय जनामा डेंगु पुष्टि भएको छ।

मकवानपुरमा एक हजार तीन सय ३१ जना संक्रमित छन्। बागमती प्रदेशमा नौ हजार तीन सय चार, लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७९, सुदूरपश्चिम प्रदेशमा तीन सय ८०,  प्रदेश १ मा चार सय दुई, गण्डकीमा दुई सय ४५, मधेश प्रदेशमा २ सय २३ र कर्णाली प्रदेशमा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक महाशाखासँग छ।

के भन्छ स्वास्थ्य मन्त्रालय?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि काठमाडौं उपत्यका डेंगुबाट सबैभन्दा बढी प्रभावित बनेको स्वीकार गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अझै १५ दिनसम्म डेंगु संक्रमणको उच्च जोखिम रहेको बताए। काठमाडौं उपत्यकाका सिभिल अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताललगायत थुप्रै अस्पतालका बेड डेंगु संक्रमितले भरिएका छन्।

Laxmi sunrise bank
kumari

काठमाडौं, ललितपुर, रुपन्देही, दाङ, भक्तपुर, चितवन, धादिङ, काभ्रेपलाञ्चोक र तेह्रथुमलगायत जिल्लामा डेंगु संक्रमण भयावह बन्दै गएको प्रवक्ता ठाकुरले बताए। 'डेंगु एक प्रकारको सरुवा रोग हो। यो एडिस एजिप्टी र एडिस एल्बोपिक्ट प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ। त्यसैले  यसबाट बच्ने उत्तम उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो,' उनले भने।

डेंगु हुँदा शरीर दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, थकान महशुस हुने, शरीरमा डाबर आउने, वाकवाकी लाग्ने वा बान्ता हुने, खानामा अरुची हुनेलगायत लक्षण देखिने जनस्वास्थ्य विज्ञले बताएका छन्। जटिल अवस्थामा लगातार बान्ता हुने, नाक वा गिँजाबाट रगत बग्ने, धेरै पेट दुख्ने, सास फेर्न गाह्रो हुने, बेहोस हुने, भित्री अंगमा समस्या आउने आदि लक्षण देखिन्छन्। डेंगुसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको परामर्श लिन मन्त्रालयको आग्रह छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा डेंगु फैलिएको छ। ७५ जिल्लामा १२ हजार २ सय १७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीको परामर्श बिना कुनै पनि औषधिको सेवन नगर्न मन्त्रालयले आग्रह गरेको छ। यसविरुद्ध अहिलेसम्म कुनै खोप बनेको छैन। डेंगु हुँदा लक्षण अनुसारको उपचार मात्रै रहेको स्वास्थ्यकर्मीको भनाइ छ। अत्यधिक ज्वरो आएमा सिटामोल सेवन गर्नुपर्ने र प्रशस्त झोलिलो पदार्थ  खान सकिने डा. ठाकुरले बताए। यसका साथै आराम गर्नुपर्ने सुझाव उनले दिए।

डेंगु सार्ने लामखुट्टे दिनको समयमा बढी सक्रिय हुने गर्छ। 'यसबाट जोगिन पूरा बाहुला भएका लुगा लगाउनु होला। झुलभित्र मात्र सुत्नुहोला। घरको झ्याल र ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउनु होला। घर, विद्यालय, कार्यालय वा सार्वजनिक स्थानमा पानी जम्न दिनु हुँदैन। घर वरपरका खाल्डाखुल्डी पुर्नुपर्छ,' प्रवक्ता ठाकुरले भने। डेंगु सार्ने लामखुट्टेले घर बाहिर वा भित्र जम्मा भएको पानीमा फुल पार्ने गर्छ।

खासगरी लामो समयसम्म पानी जम्मा हुन सक्ने टायर, फालिएका डब्बा, प्लास्टिकका बोटल, अण्डाको बोक्रा, फूलदानी, गमला, कुलर, पानी ट्यांकी, बाटा, बाल्टिन जस्ता भाँडाकुँडामा र पानी जम्मा हुने ठाउँमा यसले फुल पार्छ। यसको फुलबाट लार्भा हुँदै वयस्क हुन सात दिन लाग्ने भएकाले विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

इपिडिमियोलोजी महाशाखाले प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वय गरेर नियन्त्रणका विषयमा छलफल गरिरहेको प्रवक्ता डा. ठाकुरले बताए। रोग नियन्त्रणका लागि स्थानीय तहमा लामखुट्टेको लार्भा खोज र नस्ट गर अभियानका लागि बजेट छुट्याइएको ठाकुरले बताए। प्रदेश र जिल्लाले माग गरेअनुसार डेंगु किट उपलब्ध गराएको उनले सुनाए।

२० दिनमै ११ ले गुमाए ज्यान
डेंगुबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाएका छन्। निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीले डेंगुबाट ज्यान गुमाएको तथ्यांक मन्त्रालयसँग छ। इपिडिमियोजोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगुबाट ज्यान गुमाएका हुन्।

निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्ति बाल अस्पतालमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पतालमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगञ्ज मेडिकल कलेजमा २५ वर्षीया महिलाले ज्यान गुमाएका छन्।

यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुषको ज्यान गएको छ। ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ वर्षीय महिला र ३५ वर्षीय पुरुष, नर्भिक अस्पतालमा ३७ वर्षीय महिला गरी ११ जनाले ज्यान गुमाएका छन्। 

ज्यान गुमाउनेमा अधिकांश वयस्क नै रहेका छन्। त्यसैले यसको संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिका लागि जोखिमपूर्ण हुने भएकाले उच्च सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ।

प्रकाशित: Sep 15, 2022| 14:05 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्