शुक्रबार, जेठ १, २०८३

दलित समुदायको मानवअधिकार जोखिममा परेको चिन्ता

नेपालमा दलित समुदायका मानिसमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- नेपालमा दलित समुदायका मानिसमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ।

National life

नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागले समता फाउण्डेसनसँगको सहकार्यमा बुधबार आयोजना गरेको ‘दलित मानव अधिकार पुस्तक २०७८’ सार्वजनिक र मानव अधिकार सुनिश्चितताका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा सहभागीले दलित  समुदायको मानव अधिकार जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा समता फाउण्डेसनद्वारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ सार्वजनिक गरिएको थियो। सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ। सो वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती करणी भएको छ। 

हत्या प्रयास १, हिरासतमा मृत्यु १, आत्महत्या दुरुत्साहन ७, जबरजस्ती करणी प्रयास ७, यौन दुर्व्यवहार ३, सामाजिक सञ्जालबाट गालीगलौज १, कोठा दिन इन्कार १, वनभोजमा विभेद १, मन्दिरमा विभेद १, खानेपानीमा विभेद १, दुध घिउ खरिदमा निषेध १, क्यान्टिनबाट निकाला १, ऋण तिर्न नसक्दा कुटपिट १, अन्तरजातीय प्रेम र विवाह सम्बन्धी ११ लगायत छन्। दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवेदनको निष्कर्ष छ। 

प्रतिवेदनअनुसार ८८ मध्ये १० वटा घटनामा मात्रै जिल्ला अदालतहरूबाट कानुनी उपचार भएको छ। त्यसमध्ये पनि तीन वटा मुद्दामा मात्रै दोषीउपर सजाय भएको छ, बाँकीले सफाइ पाएका छन्। हाल ३४ वटा मुद्दा अदालतमा विचाराधीन छन् भने प्रतिवादी फरार हुँदा १९ वटा मुद्दा प्रहरी कार्यालयमै थन्किएका छन्। १३ वटा मुद्दामा भने कानुनी प्रक्रिया नै अघि बढेको छैन। १२ वटा मुद्दा भने मिलापत्रमा टुंग्याइएको छ। वर्तमान कानुनअनुसार जातीय विभेद र छुवाछुतका मुद्दा सामाजिक अपराध र सरकारवादी मुद्दा हुन्। तर, अनुसन्धान अधिकारीको लापरबाहीका कारण पीडितले न्याय पाउन सकेका छैनन्। 

प्रतिवेदनअनुसार जातकै आधारमा हुने अपराधमा दोषीलाई उन्मुक्ति दिन र घटनाहरूलाई लुकाउन राजनीतिक दबाब, आर्थिक लेनदेनका आधारमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव, भौगोलिक जटिलता, माफी तथा कानुन कार्यान्वन गर्ने निकायहरूको न्यून तदारुकता लगायत प्रमुख कारण छन्। कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य एवं प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायमाथि विभिन्न बहानामा हिंसा भइरहेको भन्दै त्यसप्रति राज्यका निकाय संवेदनशील हुनुपर्ने बताए। 

उनका अनुसार आयोगमा आर्थिक वर्ष ०७७/०७८ मा ३६ वटा घटना दर्ता भएका छन् भने आर्थिक वर्ष ०७८/०७९ मा ५३ वटा घटना दर्ता भएका छन्। राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले दलितमाथि हुने धेरैजसो हिंसाका घटनामा उनीहरुको आर्थिक अवस्था जोडिने हुँदा दलित समुदायलाई आर्थिक रुपमा समुन्नत बनाउनुपर्ने धारणा राखिन्। 

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यममा प्रकाशित विषयवस्तुले समाजमा धेरै प्रभाव पार्ने भन्दै दलित समुदायका विषयवस्तुलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने बताए। उनले पत्रकारिता क्षेत्रमा विगतको तुलनामा दलित समुदायका पत्रकारको संख्या बढिरहेको भन्दै दलित समुदायका विषयवस्तुलाई पत्रकारले नै प्राथमिकतामा राखेर समाचार लेख्नुपर्ने बताए। 

महासंघका महासचिव रोशन पुरीले नेपाल पत्रकार महासंघले महासंघका सबै तहमा समानुपातिक सहभागिताका लागि विधानमै सुनिश्चित गरेको बताए। समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले राज्यलाई थप जिम्मेवार बनाउन र दलित समुदायको न्यायका लागि उनीहरुमाथि भएका हिंसाका घटना अभिलेख गरी प्रकाशन गरिएको बताए। महासंघका सचिव एवम् केन्द्रीय दलित विभागका संयोजक हेमकर्ण विकले महासंघले सबै प्रकारका हिंसा र विभेदहरूका विरुद्ध प्रयास गरिरहेको भन्दै दलित समुदायको अधिकार सुनिश्चितताका लागि समेत सञ्चार क्षेत्रबाट पहल हुनुपर्ने बताए।

प्रकाशित: Sep 14, 2022| 16:03 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।