दक्षिण भारतको विशाखापटनम बन्दरगाहबाट गत मंगलबार वीरगञ्जका लागि हिँडेको मालबाहक रेल ।
वीरगञ्ज– गुरुयोजनाका रूपमा कार्यान्वयन गरिएको विद्युतीय कार्गो 'ट्रयाकिङ' प्रणाली (ईसीटीएस)अन्तर्गत् भारतीय बन्दरगाहबाट नेपालका लागि हिँडेको पहिलो मालवाहक रेल मंगलबारसम्ममा वीरगञ्ज सुख्खा बन्दरगाहमा आइपुग्दैछ ।
हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीका अनुसार २० फुट लम्बाईको र ९० वटा कन्टेनर बोकेको उक्त रेल गत मंगलबार विशाखापटनम बन्दरगाहबाट हिँडेको थियो । विशाखापटनम र वीरगञ्जको दूरी १४३६ किमि पर्छ ।
प्रशासनिक झण्झट अन्त्य गर्दै तेस्रो मुलुकबाट आयातित कार्गो छिटो–छरितो ढुवानी गर्न र पारवहन लागत न्यून पार्न यो रेल महत्वपूर्ण मानिएको छ । यो प्रणालीमा मालवाहक कन्टेनरमा जडित विद्युतीय उपकरणको सहायताले ढुवानी सेवा प्रदायक कम्पनीले ग्लोबल पोजिसनिङ सिस्टमको सहयोगमा कन्टेनर कुन ठाउँमा पुग्यो भन्ने यकिन जानकारी प्राप्त गर्छ ।
नेपालका लागि सामान बोकेर भारतीय बन्दरगाहबाट हिँडेको कन्टेनर बाटोमै हराउने समस्या देखिन थालेपछि दुई देशबीच पारवहनमा ईसीटीएस प्रणाली प्रयोगमा ल्याउने सहमति भएको थियो । गत वैशाखमा पहिलो पटक परीक्षणका लागि ईसीटीएस प्रणाली जडान गरेर भारतकै कोलकाता बन्दरगाहबाट दुई वटा कन्टेनर सडक मार्ग हुँदै वीरगञ्ज भित्र्याइएको थियो ।
विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकारले ईसीटीएस प्रणाली कार्यान्वयनमा ल्याएको हो । यसबाट पारवहन सेवा सहज र मितव्ययी बन्ने नेपाल फ्रेट फर्वार्डस एसोसिएसनका पूर्वअध्यक्ष राजेन शर्मा बताउँछन् । 'पारवहन लागत र ढुवानी समयको आधारमा कतिको किफायती छ भन्ने अध्ययन गर्न बाँकी छ,' उनी भन्छन् ।
प्रशासनिक झण्झट अन्त्य गर्दै तेस्रो मुलुकबाट आयातित कार्गो छिटो–छरितो ढुवानी गर्न र पारवहन लागत न्यून पार्न यो रेल महत्वपूर्ण मानिएको छ ।
वाणिज्य मन्त्रालयले ईसीटीएसका लागि आयातकर्ताले ४५ अमेरिकी डलर अतिरिक्त रकम तिर्नुपर्ने बताएको थियो । यसका अतिरिक्त विशाखापटनम बन्दरगाह भन्सारले कन्टेनर कर्पोरेसन अफ इन्डिया (कंकर)सँग २० फुटे कन्टेनरका लागि भारु ३० हजार र ४० फुटेका लागि भारु ५० हजार धरौटी लिनेछ । यस्तै, सिपिङ कम्पनीसँग क्रमशः भारु तीन लाख र पाँच लाख धरौटी लिइने विशाखापटनम भन्सारले १ अगस्टमा जारी गरेको सूचनामा उल्लेख छ ।
धरौटी रकमवापतको भार सिपिङ कम्पनी, कंकर वा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने हो भन्नेबारे स्पष्ट हुन बाँकी छ । भारतीय बन्दरगाहबाट नेपालको सुख्खा बन्दरगाहसम्म रेलमार्फत् माल बोक्ने ठेक्का भारत सरकारले कंकरलाई दिएको छ ।
तेस्रो मुलुकबाट पानीजहाजमा ल्याइने मालबाहक कन्टेनर कोलकाता वा विशाखापटनम बन्दरगाह हुँदै नेपालसम्म सडक वा रेलमार्गबाट ढुवानी हुने गरेको छ । विशाखापटनम बन्दरगाह कोलकाताभन्दा टाढा पर्छ । तर, कोलकाताबाट ल्याउँदा दोहोरो शिलबन्दी गर्नुपर्ने, भन्सार क्लियरिङ गराउनुपर्ने, रेल वा सडक कुन बाटोबाट ल्याउने भन्ने तय गर्नुपर्नेलगायत प्रकृयागत झण्झट बेहोर्नेपर्छ । र, चर्को खर्चसमेत लाग्छ । व्यापारीले २१ दिनभित्र रित्तो कन्टेनर कोलकाता पुर्याएर सिपिङ कम्पनीलाई जिम्मा लगाउन नसके चर्को जरिवानासमेत तिर्नुपर्ने बाध्यता छ ।
विशाखापटनम बन्दरगाहबाट ल्याउँदा भने कोलकातामा जस्तो लामो प्रकृयागत झण्झट नभएकाले पारवहन समय छोटिएको छ । यस्तै, सिपिङ कम्पनी मक्सले कन्टेनर फिर्ता दिनुपर्ने समय सीमा तोकेको छैन ।
हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत चौधरीका अनुसार विशाखापटनमबाट रेल आइपुग्न पाँचदेखि सात दिन लाग्छ । 'प्रकृयागत झण्झट नरहेकाले अब पारवहन झन् छिटो हुनेछ,' उनी भन्छन् ।
ईसीटीएसमा सुख्खा बन्दरगाहसम्म ढुवानी गर्दा कन्टेनर हरायो वा क्षति पुग्यो भने जिम्मेवारी कस्को हुने, पारवहन खर्च कति लाग्ने, पारवहनमा अधिकतम समयावधी कति हुने र ढिलो गरी सामान आइपुग्दा हुने नोक्सानीको जिम्मेवारी कसले लिने भन्ने विषय टुंगो लाग्न आवश्यक भएको फ्रेट फर्वाडर्सका पूर्वअध्यक्ष शर्मा बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४