झापा- झापाको भद्रपुर र बिर्तामोडबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्थायी प्रहरी पोस्टले भद्रपुर-५ स्थित मेची पुलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ट्याम्पो चालक बिर्तामोड नगरपालिका-२ निवासी ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई नगरपालिका-८ निवासी २५ वर्षीय अजय राजवंशी रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको ट्याम्पोलाई प्रहरीले सीमा नाकामै चेकजाँच गर्ने क्रममा ट्याम्पोभित्र लुकाई छिपाई राखिएको १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। ट्याम्पोसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाएको छ।
त्यस्तै लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ वर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।