काठमाडौं- काभ्रेको मण्डनदेउपुर वडा नम्बर ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यले बाख्रापालनको लागि सहयोग पाएका छन्।
रोटरी क्लबको ‘नेपाल गोट फार्मिङ्ग प्रोजेक्ट जीजी-२१२७९९७’ मार्फत उनीहरूले बाख्रापालनका लागि खोर निर्माणसहित दुई वटाका दरले बाख्रा पाएका हुन्।
परियोजनाले सहकारीको लागि दुई वटा बोयर जातका बोका, खोप, औषधि, पशु बिमा र बाख्रापालनका लागि सहयोगसमेत पाएका छन्।
परियोजनाले सोमबार बाख्रा वितरण कार्यक्रम राखेको थियो। परियोजनाले पहिलो चरणमा २५ जना किसानलाई सहयोग गरिएको र थप २५ जनालाई सहयोगको तयारी भइरहेको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए।
आर्थिक विकास बिना समग्र विकास सम्भव नभएको र आर्थिक सशक्तीकरण बिना महिला सशक्तीकरण सम्भव नहुने मान्यताका साथ परियोजनाले काम गरेको अध्यक्ष बस्नेतको भनाई छ।